काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् ।
रामेछापमा पत्रकार अन्तरक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए।’ उनले भने,‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’
उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थको रोटी सेक्ने काम भएको बताए । ‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ,’ उनले भने,‘आन्दोलनभित्र छिरेर गैरजेनजीले उत्पात मच्चाउने र स्वार्थको रोटी सेक्ने काम गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थहरु त्यसभित्र घुसेर परिस्थिती यस्तो भयो ।’
आन्दोलनका क्रममा पहिलो दिनमै त्यति धेरै युवाले सहादत प्राप्त गरेको विषय समेत गम्भीर भएकाले छानविन हुनुपर्ने उनले बताए ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पौडेलले यस क्रममा भएको क्षतिले राज्यले आफ्नो सम्पत्ति र नागरिकको सम्पत्ति रक्षा गर्न सक्ने विषय प्रश्नका रुपमा खडा भएको भन्दै यसको छानबिन आवश्यक रहेको बताए । ‘युवाहरुको सहादत र व्यक्ति तथा राज्यको सम्पत्ति दुवैको असुरक्षा र विनाशलाई गम्भीर रुपमा हेरिनुपर्छ । यसलाई सामान्य रुपमा लिन सकिन्न यो सरकारले छानविन गर्नुपर्छ ।’
अब देश स्थिरतातर्फ जानुपर्ने र देशलाई सहि मार्गमा लैजानका लागि निष्पक्ष र शान्तिपूर्ण ढंगबाट निर्वाचत हुनुपर्ने भन्दै उनले भने,‘राज्यका संयन्त्रमा उठेका प्रश्नहरु उत्तरित हुनुपर्छ । यसो भए मात्र समस्या हल हुन सक्छ ।’ सरकारको क्याबिनेटमा अन्तिम समयसम्म पनि जेनजीको विषय र सामाजिक सञ्जालको विषय उठाउने आफू पहिलो व्यक्ति भएको भन्दै पूर्व मन्त्री पौडेलले आफूले क्याबिनेटमा सामाजिक सञ्जालको हकमा बन्द गर्नु हुँदैन भनेको स्मरण गरे ।
आफू यस्तो परिस्थितीमा पदमा बस्नु उचित हुँदैन भनेर २३ गते नै राजीनामा दिने मनस्थिीतिमा भए पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट राजीनामा दिएको बताए । ‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन र उहाँलाई समेत यो अवस्थामा पदमा बसिरहन हुन्न भनेर म बालुवाटार जाँदै थिएँ, उनले भने । त्यसबीचमा परिस्थिती बदलिएकाले सामाजिक सञ्जालबाट राजीनामा दिएका ेभन्दै उनले आफ्नै व्यवस्थापनमा सुरक्षित बसेको बताए ।
प्रतिक्रिया