काठमाडौं । सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ ।
प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठुलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।
प्रतिक्रिया