काठमाडौं । गृह मन्त्रालयले धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । आन्दोलन र प्रदर्शनको क्रममा स्वार्थ समूहको घुसपैठ हुन सक्नेतर्फ शतर्क गराउँदै गृहमले जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सधैं तत्पर र गम्भीर रहेको बताएको छ ।
‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्वोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ,’– गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने भन्दै गृहले आयोजक त्यसतर्फ सचेत हुनुपर्ने पनि बताएको छ । आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन दिन नहुने पनि गृहले स्मरण गराएको छ ।
सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्धन गर्ने कार्यमा योगदान गर्न गृहले अनुरोध गरेको छ । वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको पनि बताइएको छ ।
प्रतिक्रिया