×

३० वटा उद्योगले विद्युत प्राधिकरणलाई ताला–चाबी बुझाउने

images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन धमाधम काट्न थालेपछि उद्योगका सञ्चालकहरु छलफलमा जुटेका छन् । प्राधिकरणले ६ वटा उद्योगको लाइन यसअघि नै काटिसकेको थियो ।

हिजो (शुक्रबार) रातिदेखि थप १८ वटा उद्योगको लाईन काटेपछि ती उद्योगका सञ्चालकहरु सामूहिक छलफलमा बसेको स्रोतको दाबी छ । उनीहरुले अब आफ्नो उद्योगको चाबी नै प्राधिकरणलाई लगेर बुझाउने भएका छन् । आफूहरुले भोलि प्राधिकरणलाई लगेर आफ्नो उद्योगको ताला–चाबी बुझाउन लागेको शिवम सिमेन्टका अध्यक्ष गौरव गोयलले जानकारी दिए ।

प्राधिकरणले शुक्रबार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटेको छ ।

लक्ष्मीपूजाको भोलिपल्ट अर्थात कार्तिक ४ गते जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् काटेको थियो । उर्जामन्त्री कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरुसँग जसरी पनि बक्यौता लिने भनेका छन् ।

तर, उद्योगीहरुले तिर्नुपर्ने स्पष्ट कारण माग्दै आएका छन् । जेनजी आन्दोलनको कारण निजी क्षेत्रको मनोवल खस्किएको छ । अहिले पुँजी पलायनको ठूलो खतरा उत्पन्न भएको छ । तारे होटल बन्द गरिएको सूचना आउन थालेपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन् । हिजोमात्रै पाँचतारे होटल ह्यात बन्द गरिएको सूचना जारी भएको छ । यस्तो अवस्थामा उद्योगको लाईन काटिनु गलत हुने चर्चा चल्न थालेको छ ।

शनिबार ९ कात्तिक २०८२ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया