×

राष्ट्रपति नागरिकता विधेयकबारे परामर्शमा व्यस्त

images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयमा नागरिक समाजका अगुवा, कानुनविद् तथा सुरक्षा निकायका उच्च पदाधिकारीसँगको छलफललाई तिव्रता दिएकी छन् ।

आफूले दिएको सुझावलाई बेवास्ता गरेर प्रतिनिधि सभाले हुबहु विधेयक पुनः पारित गरेपछि उनले केही दिनदेखि आवश्यक राय सुझाव लिइरहेकी छन्। यसैक्रममा हिजो राष्ट्रपति भण्डारीले नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी छन् ।

छलफलका क्रममा सेनाका पूर्व जर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए ।

यसअघि राष्ट्रपति भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् । तर गएको २ गते प्रतिनिधि सभाको बहुमतबाट विधेयक जस्ताको त्यस्तै स्वीकृत भइसकेको छ।

प्रतिनिधि सभाबाट पुनः पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभामा पनि सत्तारूढ गठबन्धनकै बहुमत छ । राष्ट्रिय सभा बैठक आउँदो १२ गते बोलाइएको छ तर विधेयक कहिले पारित हुन्छ भन्ने निश्चित छैन ।  

बिहीबार ९ भदौ २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया