काठमाडौँ- काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्थाको रूपमा रहेको मेयर्स फोरमको बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटको समय मागेर छलफल अघि बढाउने तय गरेको हो।
प्रमुख छलफलका विषयहरू
फोहोर व्यवस्थापन र जग्गा पहिचान: उपत्यकाको फोहोरको दीर्घकालीन समाधान, विसर्जनस्थल तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको प्रबन्धबारे तीनै तहका सरकारको साझा प्रतिबद्धता हुनुपर्ने फोरमको निष्कर्ष छ।
पूर्वाधार र बक्यौता: सडक बत्तीको शुल्क व्यवस्थापन तथा स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार सम्बन्धी विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइनेछ।
सांसदको व्यवहारप्रति आपत्ति: भदौ ५ गते सिंहदरबारमा आयोजित फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति फोरमले घोर आपत्ति जनाएको छ। सो विषय पनि भेटमा उठाउने निर्णय गरिएको छ।
नेप बेस्ट सम्झौता समीक्षा: तत्कालीन सरकार र नेप बेस्ट (Nep Waste) बीच भएको सम्झौता कार्यान्वयन गर्ने वा खारेज गरी नयाँ प्रक्रिया अघि बढाउने भन्नेबारे स्पष्ट मार्गचित्र पहिल्याउन माग गरिनेछ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा दायित्व भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच चुस्त समन्वय आवश्यक रहेको फोरमले स्पष्ट पारेको छ।
प्रतिक्रिया