काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारतको भ्रमण सीमा विवाद मिलाउने स्वर्ण मौका भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भ्रमणमा ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा नभएको बताएका छन् । उनले भनेका छन्-लिम्पीयाधुरा लिपुलेक बारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कुटनीतिज्ञलाई जानकारी नभएको थिएन । अहिले प्रमको दुई तिरकै यात्रा स्वर्ण मौका हो । ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन । मिचाहालाई एक ईन्च मिच्न दिए एक माईल मिच्छ भन्ने चिनीयाँ उखान छ ।
२- कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् । पोखरा महानगर- १३ आर्वास्थित मड्केल्नाको ओरालोमा सोमबार माइक्रोबस दुर्घटना भएको हो । आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किएको हो ।
३- दक्षिणी गाजाको एक अस्पतालमा इजरायली क्षेप्यास्त्र आक्रमणमा चार पत्रकारसहित २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल जजीरा र रोयटर्सका पत्रकार पनि रहेका छन् । अल जजीराका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले यो आक्रमण 'डबल-ट्याप' आक्रमण भएको बताएको छ, जसमा लगातार दुई क्षेप्यास्त्र आक्रमण भएका थिए । यसले उद्धार कार्यलाई अझ खतरनाक बनाएको बताइएको छ । इजरायली सेनाले अहिलेसम्म यस आक्रमणको बारेमा कुनै बयान दिएको छैन। यद्यपि, इजरायलले पहिले हमास आतंककारीहरूले त्यहाँ कमाण्ड र नियन्त्रण केन्द्रहरू सञ्चालन गरिरहेको भन्दै अस्पतालहरूमा आक्रमणलाई जायज ठहराएको छ । पत्रकारहरूको सुरक्षा समितिका अनुसार, इजरायल-हमास द्वन्द्वमा अहिलेसम्म १९२ पत्रकार मारिएका छन् । जबकि केही मिडिया रिपोर्टहरूले २०० भन्दा बढी पत्रकार मारिएको बताएका छन् । यस युद्धको तुलनामा, रूस-युक्रेन युद्धमा अहिलेसम्म १८ पत्रकार मात्र मारिएका छन् ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने बताएकी छन् । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएपछि निकिताले सामाजिक सञ्जालमा लेख्दै संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने बताउदै आफ्नो श्रीमानको जीवन सुरक्षित नरहेको बताएकी हुन् ।
५- काठमाडौं महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरुले प्रदर्शन गरेका छन् । कानून अनुसार हरेक नेपालीले बिना रोकटोक व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित महानगरको यो हस्तक्षेपको व्यवसायीहरुले विरोध गरेका हुन् । उनीहरुले लाखौं नागरिकको रोजीरोटीसँग जोडिएको यो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुको सट्टा कानूनी शासनको उपहास गर्दै लुटपाट, छिनछोर, तोडफोड, कुटपिट लगायतका अपराधिक कार्य गर्ने गराउने जोसुकै भएपनि कानुनी कारवाहीको दायरामा ल्याउन गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
६- नेपालका लागि ईजरायलको राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनकै निवास बुढानिलकण्ठमा आज शिष्टाचार भेट गरेका छन् । पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री समेत रहेका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिंदो भूराजनीतिक आयामहरु र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्दै राजदूतले राखेका सरोकारका विषयहरुमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्याउने बताए । हमासको बन्धकको रुपमा रहेको विपिन जोशीको रिहाईको लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरी लगायतका मानवीय संकट यथाशिघ्र समाधानको लागि उनले सम्बद्ध ईजरायली पक्षसंग अनुरोध गरेका छन् । भेटका क्रममा राजदूतले हमासले ईजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थिहरुको ज्यान गएको विषय र एक जना विपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख ब्यक्त गरे । साथै ६७० दिनसम्म पनि विपिन लगायत बन्धकहरुलाई छुटाउन नसकिएकोमा समेत उनले दुःख ब्यक्त गरेका छन् ।
७- सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको संबैधानिक इजलासले असार ४ गते दीपक मनाङेलाई ज्यान मार्ने कसुरमा प्रदेश सभा सदस्यबाट पद मुक्त गर्ने आदेश दिएको थियो । योसँगै मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ । निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको निर्णय गरेको थिएन । निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन ।
८- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको भदौं ११ गते बुधवार हुने निर्वाचनको कार्यतालिका सार्बजनिक भएको छ । संसद सचिवालयका अनुसार मंगलबार दिउसो १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभाका सचिवको कार्यकक्षमा सभापतिको प्रस्ताव दर्ता गर्ने, दर्ता भएका प्रस्तावको सुची मंगलबार दिउसो ४: १५ प्रकाशित गरिने र बुधबार ३ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा दर्ता भएका प्रस्ताव प्रस्तावकले पेश गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने तालिका रहेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै साउन २७ गते राजीनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने नियम गरेको थियो ।
९- नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए । बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत लगायतमा हासिल भएका उपलब्धिहरुलाई प्राथमिकता दिनेबारे छलफल भएको छ । बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङसम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङको लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस पाएको थियो ।
१०- आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका एक करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
११- भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ । सरकारले सावधानीका रूपमा ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ। राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छोड्न दिएको निवेदन जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका हुन् । लामिछानेका कानुन व्यवसायीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गरेका छन् । गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो । लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।
१३- यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान गरेका छन । प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया भदौ ९ गते सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् । पञ्चाङ्ग निर्णायक विकास समितीद्वारा दिइएको साइतअनुसार आज विहान ठीक ९: ४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाईमा गएका प्रतिनिधिहरुले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा)को लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिने छ ।
१४- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले शिष्टाचार भेट गरेकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताए । नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरूमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएको राष्ट्रपति कार्यालयले जनाएको छ।त्यस्तै उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताइन् । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको समेत बताएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
१५- फ्रान्सेली सरकारले फ्रान्सका लागि अमेरिकी राजदूत चार्ल्स कुशनरलाई स्पष्टिकरणका लागि बिलाएको छ । कुशनरले फ्रान्सलाई 'यहूदीहरू विरुद्ध बढ्दो घृणाका घटनाहरू रोक्न असफल' भएको आरोप लगाएका थिए । फ्रान्सेली विदेश मन्त्रालयले कुशनरको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ र उनको टिप्पणीलाई अस्वीकार्य भनेको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ३ सयले घटेर तोलाको एक लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३५५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३५० मा कारोबार भएको थियो ।
१७- अभिनेता दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ । यहि भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले फिल्म गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तुमा बनेको बुझ्न सकिन्छ । साथै फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ र अर्पण थापाबीचको त्रिकोणात्मक प्रेमकथा समेत रहेको ट्रेलरबाट स्पष्ट हुन्छ । खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ, रिश्मा र अर्पणसहित गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बाल कलाकारहरु असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ । फिल्मको निर्माणमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सले रोटेपिङ इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मका कार्यकारी निर्माता वीरवल घले रहेका छन् भने फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा विदेशी सहायता कटौती गरेपछि गैर-नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएका छन् । ट्रम्पले सहायता बन्द गरेको घोषणाको २४ घण्टा भित्र, नि:शुल्क एचआईभी उपचार सेवा प्रदान गर्ने धेरै गैर-नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसका साथै एचआइभी रोगबाट पीडित दक्षिण अफ्रिकीहरूलाई नि:शुल्क औषधिको आपूर्ति पनि बन्द गरेको बताइएको छ । यद्यपि अमेरिकाले विश्वव्यापी स्तरमा केही जीवन बचाउने एचआईभी सेवाहरूलाई आंशिक रूपमा छुट दिएको छ तर विज्ञहरूले यसको प्रभाव गहिरो रुपमा पर्ने चेतावनी दिएका छन् । यदि सहायता पुनर्स्थापित भएन भने, दक्षिण अफ्रिकाले आगामी केही वर्षहरूमा लाखौं नयाँ संक्रमण र हजारौं मृत्यु देख्न सक्ने उनीहरुले चेतावनी दिएका छन् । पछिल्लो रिपोर्ट अनुसार दक्षिण अफ्रीकाको १२.८ प्रतिशत जनसंख्या एचआइभी संक्रमित रहेको छ, जुन करिब ८० लाखको हाराहारीमा रहेको छ ।
१९- विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको १०औं परीक्षण जमिन प्रणालीमा त्रुटिका कारण स्थगित गरिएको छ । जमिन प्रणालीमा त्रुटि हुनुको अर्थ रकेट प्रक्षेपण गर्न जमिनमा रहेको उपकरण, मेसिन वा प्रणालीमा प्राविधिक समस्या भएको बताइएको छ । यो आज, अर्थात् अगस्ट २५ मा बोका चिकाबाट प्रक्षेपण गरिने तालिका रहेको थियो । पहिले यो परीक्षण जुन २९ मा गरिने थियो, तर स्थिर आगो परीक्षणको क्रममा स्टारशिपमा विस्फोट भएको थियो ।
२०-म्यानचेस्टर युनाइटेड फुलह्यामसँग बराबरीमा रोकिएको छ । आइतबार राति सम्पन खेलमा म्यानचेस्टर युनाइटेड र फुलह्याम १-१ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा खेलको ५६औं मिनेटमा रोड्रीगो मुनिजको आत्मघाती गोलमा म्यानचेस्टर युनाइटेडले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७३औं मिनेटमा एमिल स्मिथ रोवले गोल गर्दै एभर्टनका लागि खेल बर्ब्री गरेका थिए । यो बराबरीपछि फुलह्यामले लगातार दोस्रो खेल बराबरी खेलेको छ भने पहिलो खेल हारेको म्यानचेस्टर युनाइटेडले दोस्रो खेलमा बराबरीमा रोकिएर नयाँ सिजनमा खराब शुरुवात गरेको छ ।
प्रतिक्रिया