विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका दलका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको भन्दै बचाउ गरेका छन् । अजा (आइतबार) विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले यस्तो बताएका हुन् ।
उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । उनले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको स्मरण गराए । तर, अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने उनको मत छ । ‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’, विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’
कांग्रेस नेता डा. शेखर कोइरालाले भने नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । हिजो विराटनगरमा नै आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले यत्रो विषय उठिसकेकोले अब राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने मत राखेका थिए । त्यसको भोलिपल्ट आज नेता सिटौलाले भने गृहमन्त्री लेखकले राजीनामा दिननपर्ने भन्दै बचाउ गरेका हुन् ।
प्रतिक्रिया