×

चिनियाँ दूतावासले भन्यो– तथ्यहीन प्रचारको कडा निन्दा गर्छौँ, चीनबारे योजनाबद्ध हल्ला फैलाउनेलाई कारबाही गरियोस्

images

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले केही सञ्चारमाध्यमका पत्रकारलाई आफ्नो एक चिनियाँ नागरिकले निश्चित नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति गम्भीर आपत्ति जनाएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त हल्लाप्रति “गहिरो स्तब्धता” व्यक्त गर्दै त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । दूतावासका प्रवक्ताले चीनविरुद्ध नियोजित रूपमा बदनाम गर्ने प्रयास भएको भन्दै यस्ता गतिविधिको कडा शब्दमा निन्दा गरेका छन् ।

प्रवक्ताका अनुसार चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको छ । साथै, चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको र नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास तथा जनजीवन सुधारमा सहयोग पुर्‍याउँदै आएको दाबी गरिएको छ ।

दूतावासले सम्बन्धित नेपाली निकायलाई उक्त हल्लाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । साथै, यसमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न व्यक्तिलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न पनि आग्रह गरिएको छ ।

प्रवक्ताले चीन नेपालसँग कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउन तयार रहेको उल्लेख गरेका छन् । “तर्क र विवेकले हल्लालाई अन्त्य गरोस्,” प्रवक्ताको भनाइ उद्धृत गर्दै दूतावासले नेपाल–चीनबीचको परम्परागत मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन सबै नेपाली मित्रहरू एकजुट हुने विश्वास व्यक्त गरेको छ ।

यसअघि पत्रकार किशोर श्रेष्ठले पत्रकार र मिडिया हाउसलाई फसाउन,बदनाम गर्न चिनियाँ नम्बरबाट वाक्क लाग्नेगरी पटकपटक कल आएको बताएका थिए । उनले आफूलाई प्रलोभनमा पार्न एउटी मास्क र कालो चश्माधारी युवतीले आफ्नो अफिसको गेटमा रक्सी र ५० हजार छाडेकोसमेत बताएका थिए ।

दूतावासले चीनले सधैं ‘अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त’ पालना गर्दै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्दै आएको दाबी पनि गरेको छ ।

वक्तव्यमा ‘दुई देशको साझा हितको संरक्षणका लागि सुरक्षा तथा कानुनी सहकार्य सुदृढ बनाउन तयार’ रहेको उल्लेख छ ।

सोमबार ११ जेठ २०८३ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया