×

सरकारको तीन बुँदे ट्राभल एडभाइजरी :म्यान्मार र थाइल्याण्डमा जाने नेपालीहरुले सावधानी अपनाउन आग्रह

images

काठमाडौँ । सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका देशहरुमा जान चाहने र जाने तयारीमा रहेका नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालीहरूलाई जबरजस्ती अवैध कार्यहरुमा लगाएकाे पाइएपछि सावधानी अपनाउन अनुरोध गर्दै परराष्ट्र मन्त्रालयले साेमबार ट्राभल एडभाइजरी जारी गरेको हो।

मानव वेचविखन एवं अन्य अपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरुले नेपालीहरुलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्याहरु रहेको जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढेकाे भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण जनाएकाे छ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने कार्य कानून बमोजिम दण्डनीय भएकाले यस्ता कार्यहरु नगर्न/नगराउन मन्त्रालयले अनुरोध गरेका छ।

यस्ताे छ सरकारकाे ट्राभल एडभाइजरी

१. अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो-करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकोले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य श्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न हुन
२. वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताहरूको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रुपमा ती फर्म/कम्पनी/रोजगारदाताहरूको वेवसाइट चेकजाँच गर्नुहुन ।
३. उल्लिखित विषयहरु लगायतका सम्बन्धमा कुनै जानकारी लिनु परेमा नेपाली राजदूतावास, याहुनका द्वितीय सचिव श्री गंगा सुन्दास (इमेल [email protected]/[email protected]: टेलिफोन नम्बर +95-01-9545880/01- 9557168 Hotline/Viber/Whatsapp No. +95 9251242051 /फेसबुक पेज Embassy of Nepal Yangon Myanmar) तथा नेपाली राजदूतावास, बैंककका प्रथम सचिव श्री खगराज पाण्डे (इमेल conbangkok/@mofa.gov.np [email protected]: टेलिफोन नम्बर +66869915554 (Whatsapp) लाई सम्पर्क गर्न हुन र अन्य सान्दर्भिक जानकारी दूतावासको वेवसाइट https://mm.nepalembassy.gov.np र
https://th.nepalembassy.gov.np मा हेर्न सकिने छ ।
सिहदरबार, काठमाण्डौ, फोन नं. ४२००१८२-८६, फ्याक्स नं. ४२००१६०/४२००१६१ Website: www.mofa.gov.np, Email: [email protected]

मङ्गलबार ९ पुस २०८१ ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया