काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् । नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उहाँले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गरेकी थिइन् । ‘यो तपाईँहरुको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरु हरेक खेलाडी र अफिसियल यस उपलब्धिको जस पाउनका लागि हकदार हुनुहुन्छ। र, अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस्।’ उनले अगाडि भनिन्, ‘एकदमै राम्रो कुरा हो। आफ्नै पहलमा यहाँहरुले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सह्राहनीय छ। त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ। सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायहरुसँग छलफल गर्छु।’ प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो । उनीहरुले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताएका थिए ।
२- होटल तथा रेष्टुरेन्टहरुले उत्पादकले तोकेको मूल्यभन्दा बढी मुल्यमा पानी बिक्रि नगर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले आग्रह गरेको छ । बिभागले एमआरपीभन्दा बढी मूल्य लिँदा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्ताले माग दाबी गरेमा कारबाही स्वरुप जरिवाना र क्षतिपूर्ति समेत दिनुपर्ने भन्दै एमआरपी भन्दा बढी रकम असुल नगर्न भनेको छ । बिभागले भनेको छ: खानेपानी बोतल बिक्री वितरण र मूल्यका सम्बन्धमा उपभोक्ताको व्यापक गुनासो प्राप्त भएको सन्दर्भमा अनुरोध गरिएको छ, उत्पादकहरुले तोकेको अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिई होटल, रेस्टुरेन्ट आदिमा बिक्री गरिरहेको पाइएको एवं उपभोक्ताले मेनुमा उल्लेख भएका वस्तु वा सेवा प्राप्त गरेपछि टेबलमा लगेर राखिएको सिलबन्दी बोतललाई उपभोक्तासँग थप मूल्य लिनु उपयुक्त नदेखिएको हुँदा एमआरपीभन्दा बढी मूल्य लिँदा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्ताले माग दाबी गरेमा कारबाही स्वरुप जरिवाना र क्षतिपूर्ति समेत हुने हुँदा सिलबन्दी खानेपानी बोतल ग्राहकलाई उपलब्ध गराउँदा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भन्दा बढी रकम असुल नगर्नु हुन सूचित गरिएको छ । अन्यथा उजुरी वा स-प्रमाण दाबी हुन आएमा उपभोक्ता संरक्षण ऐन, नियम अनुसार कारबाही हुने बेहोरा सबैमा जानकारीका लागि यो सूचना गरिएको छ ।
३- सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो । २०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए । मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।
४- बलिवुडका प्रसिद्ध अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार भएको छ । सोमबार मुम्बईको विले पार्ले शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो । अन्त्येष्टिमा उनका नजिकका आफन्तहरू उपस्थित थिए । ८९ वर्षीय प्रसिद्ध अभिनेता धर्मेन्द्रको मृत्युको खबर फैलिएपछि, विले पार्ले शवदाह गृह बाहिर मिडिया र प्रशंसकहरूको भीड जम्मा भएको थियो । धर्मेन्द्रको सोमबार दिउँसो स्थानीय समय अनुसार १:२० बजे सनी देओल, बबी देओल, ईशा देओल, श्रीमती हेमा मालिनी र धेरै नजिकका आफन्तहरूको उपस्थितिमा दाहसंस्कार गरिएको थियो । धर्मेन्द्रको अन्तिम बिदाइमा फिल्म उद्योगका धेरै सेलिब्रेटीहरु पनि शवदाह गृहमा पुगेका थिए । धर्मेन्द्रलाई अन्तिम विदाई दिनेहरूमा अमिताभ बच्चन, अभिषेक बच्चन, शाहरुख खान, रणबीर कपूर, दीपिका पादुकोण, गोविन्द, आमिर खान, लेखक सलीम खान, संजय दत्त, अनिल कपूर, निर्देशक रमेश सिप्पी र गायक मिका सिंह जस्ता प्रमुख व्यक्तित्वहरू शवदाह गृह पुगेका थिए ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासमेत ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेजविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कोरोनाको समयमा १३ स्वास्थ्य सामाग्री खरिद गर्नेक्रममा मिलोमतोमा बढी मुल्य कबोल गर्ने फर्मलाई आशय स्वीकृत गरेको पाइएको जनाएको छ । अख्तियारले आफ्नो पद ओहोदाको दुरुपयोग गरेर सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गरार्इ कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानूनको उद्देश्य विपरीत प्रतिवादीहरुले कम लागतमा स्वास्थ्य सामाग्री आपूर्ति गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालार्इ नियोजित तवरले प्रतिस्पर्धाबाट हटाई लक्षित बोलपत्रदाता जनमुक्ति हेल्थ इन्टरप्राइजेजलार्इ स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का दिएको प्रमाणित भएको जनाएको छ । अख्तियारले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्याङ्कन समितिका सदस्य) रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) नेत्र नर सिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेज तथा उक्त कम्पनीका प्रोपाईटर नवराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । अख्तियारले सबै आरोपीविरुद्ध जनही ३१ लाख १७ हजार ८९ बिगो कायम गरि कानुन अनुसारको सजाय माग गरेको छ ।
६- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन बनाएको थियो । जनकपुरका लागि जान निकोल लोफ्टीले सर्बाधिक ४१ रन बनाए भने लाहिरु मिलान्ताले २३ रन बनाएका थिए । त्यस्तैविराटनगरका बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने सुर्य तामाङले २ विकेट लिएका थिए । यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रन बनाएर आउट भए । यस्तै मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए । यस्तै विराटनगरका लागि वसिर अहमद ३५ बलमा ३६ रन, शुमम रन्जानेले २९ बलमा ३७ रन बनाए । त्यस्तै जनकपुरका लागि रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले एक विकेट लिए । यो जितपछि विराटनगरको ३ खेलमा तिनै खेल जितेर ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन्स जनकपुर बोल्टसले लगातार दोस्रो हार बेहोरेको छ ।
७- नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से ५०.४४ अंकले बढेर २५५०.६६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज माबिलुङ इनर्जीको शेयर ४.४४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ८१ लाखको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २४ करोड ४३ लाख बराबर कारोबार भएको छ ।
८- नेपाली बक्स अफिसमा फिल्म परानले जेरी अन टपलाई उछिनेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले १४ करोड कमाई गर्दै जेरी अन टपलाई उछिनेको हो । परानले शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ४ लाख ९९ हजार १६८ टिकट बेचेको छ । त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड १९ लाख ७४ हजार ८१३ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ८९ हजार ७२२ टिकट बेचेको छ । त्यसैगरी जारी-२ ले अहिलेसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल एक लाख ९५ हजार ४२२ टिकट बिक्रि भएको छ । त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ४० लाख ६३ हजार ४६ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख २८ हजार ३१४ टिकट बिक्रि गरेको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जाने बताएका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टी चुनावमा जाने निर्णय गरेपछि काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवाकै हस्ताक्षर लिएर चुनावमा जाने चर्चा भइरहेका बेला महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले काँग्रेसले विशेष महाधिवेशनबाट नयाँ सभापति चयन गरेर नयाँ सभापतिको हस्ताक्षरमा चुनाव लड्ने बताएका हुन् । उनले भनेका छन्: बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने; होइन । साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भने; प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ । यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।
९- प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिसम्बन्धी प्रकाशित सामग्रीप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ । सोमबार प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका हुन् । प्रधानमन्त्री कार्की मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा संवेदनशील रहँदै आएको उल्लेख गर्दै सचिवालयमा अत्यन्त न्यून जनशक्तिबाट काम सञ्चालन हुँदै आएको दाबी गरिएको छ। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधिअनुसार प्रमुख स्वकीय सचिव प्रधानमन्त्री स्वयंले नियुक्त गर्ने व्यवस्था रहेको स्मरण गराउँदै सोही अधिकार प्रयोग गरी विश्वासिलो व्यक्तिलाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
१०- एलन मस्कले नेतृत्वमा रहेको अमेरिकी सरकारको सरकारी दक्षता विभाग बन्द गरिएको छ । जनवरी २०, २०२५ मा राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशद्वारा स्थापित भएको दक्षता विभाग जुलाई ४, २०२६ सम्म सञ्चालन हुने तालिका थियो । मिडिया रिपोर्टका अनुसार, विभागले या त साढे २ लाखभन्दा बढी सरकारी कर्मचारीहरूलाई सिधै बर्खास्त गरेको थियो वा उनीहरूलाई खरिद र प्रारम्भिक अवकाश प्याकेजहरू प्रस्ताव गरेको थियो । मिडिया रिपोर्टका अनुसार विभाग पहिले धेरै सक्रिय थियो, तर अब यसका शीर्ष अधिकारीहरू विभिन्न सरकारी कार्यालयहरूमा काम गरिरहेका छन् । यसको लक्ष्य सरकारलाई सानो, छिटो र कम खर्चिलो बनाउने थियो । सरकारी दक्षता विभाग ट्रम्पको 'परियोजना २०२५' को हिस्सा थियो । सुरुमा, एलोन मस्क र विवेक रामास्वामीलाई यसको प्रमुख नियुक्त गरिएको थियो, तर रामास्वामीले यो सुरु हुनुभन्दा पहिले नै विभाग छोडेका थिए ।
११- अभिनेता भुवन केसीले ९ वर्षपछि निर्देशनमा पुनरागमन गरेका छन् । केसीले फिल्म ‘बाटुलो जून’ मार्फत निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । फिल्मको गत शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहुर्त गरेर छायांकनको औपचारिक सुरुआत गरिएको छ । सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ । फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ । केसीले पछिल्लो पटक फिल्म ‘ड्रिम्स’ निर्देशन गरेका थिए । त्यस्तै, अनमोलले बुबा (भुवन केसी) कस फिल्म ‘चिनो’, ‘सम्झना’, ‘कुसुमे रूमाल’ जस्ता फिल्ममा निभाएको भूमिका र ती फिल्महरूमा देखिएको लुक्समै आफू प्रस्तुत हुन लागेकाले बुबाकै विरासत धान्ने गरि फिल्ममा जोडिएको प्रतिक्रिया दिएका छन् । जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ । फिल्ममा तेजबिक्रम केसी कार्यकारी निर्मातामा छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।
१२- आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ । सोमबार आयोजक सहारा क्लब पोखराले माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण आयोजना हुने जानकारी दिएको हो । क्लबले पोखरामा आयोजनामा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको र तयारी शुरु भएको जानकारी दिएका छन् ।
१३- पाकिस्तानको पेशावरमा रहेको संघीय कन्स्टेबुलरी मुख्यालयमा सोमबार आक्रमण भएको छ । रिपोर्टका अनुसार, मुख्यालय नजिकै धेरै विस्फोटहरू सुनिएका थिए, जसले गर्दा क्षेत्र खाली गरिएको थियो । पाकिस्तानी सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न आत्मघाती हमलाकारीहरू मारिएको बताएका छन् । साथै तीन प्रहरी कर्मचारी मारिएका छन् र दुई जना घाइते भएका छन् । पाकिस्तानको द डनका अनुसार, आक्रमण बिहान ८ बजे सदर-कोहट सडकमा भएको थियो । एक आत्मघाती हमलाकारीले मुख्यालयको गेटमा आफैलाई विस्फोट गराएको थियो । त्यसपछि गोली चलेको सुनियो । अर्को आक्रमणकारीले मुख्यालयमा प्रवेश गर्ने प्रयास गरेको थियो । यद्यपि, सुरक्षा बलहरूले उनलाई गोली हानी मारेका थिए । त्यसपछि सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेर उद्धार कार्य सुरु गरेका थिए । आक्रमण गरिएको संघीय प्रहरी बल एक नागरिक अर्धसैनिक बल हो, जसलाई पहिले फ्रन्टियर कन्स्टेबुलरी भनेर चिनिन्छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले घटेर तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३११५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।
१५- भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ । राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको 'खतरनाक रूपमा विकृत' बयानले विस्तारवादी मानसिकता प्रतिबिम्बित गरेको बताएको छ । राजनाथ सिंहले भनेका थिए- 'सिन्धको भूमि आज भारतको हिस्सा नहुन सक्छ, तर सभ्यताको दृष्टिकोणबाट यो सधैं भारतको हिस्सा रहनेछ। जहाँसम्म भूमिको सवाल छ, सीमाहरू परिवर्तन हुन सक्छन् । कसलाई थाहा छ, सिन्ध भोलि भारतमा फर्कन सक्छ ।' राजनाथ सिंहको बयानको बारेमा पाकिस्तानले भन्यो- 'यस्ता बयानहरूले स्थापित वास्तविकताहरूलाई चुनौती दिने र अन्तर्राष्ट्रिय कानून, मान्यता प्राप्त सीमाहरू र देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गर्ने विस्तारवादी हिन्दुत्व मानसिकतालाई प्रतिबिम्बित गर्दछ ।' पाकिस्तानको विदेश मन्त्रालयले भन्यो- 'हामी राजनाथ सिंह र अन्य भारतीय नेताहरूलाई क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पार्ने उत्तेजक बयान दिनबाट टाढा रहन अपील गर्दछौं ।'
१६- पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा यातायात अवरुद्ध भएको छ । सडकको ध्यु खोला नजिक वीरगन्जबाट भैरहवातर्फ रासायनिक मल बोकेर जाँदै गरेको मालबाहक गाडी बिग्रीएका कारण राजमार्ग एकतर्फी सञ्चालन भैरहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ८ : ४० बजेवाट दाउन्ने खण्डको पूर्वी बजार दुम्कीवाससम्म लामो जाम भएको छ । जामका कारण पूर्व–पश्चिम हिँडेका गाडी दुम्कीवास बजारसम्म रोकिएका छन् । बिग्रिएको बा प्र ०३ ००१ ख ०९५१ नम्बरको गाडी राजमार्गवाट हटाउन शुरु गरिएको छ । दाउन्ने सडक खण्ड निर्माणकै क्रममा रहेकाले कैयौं ठाउमा एकतर्फी रुपमा संचालन भइरहेकाले हरेक दिन जाम हुने गरेको छ ।
१७- प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा गरिएको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेको विषय बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ । भ्रष्टाचार र नातावादविरुद्धको जेनजी आन्दोलनको जगमा बनेको सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेपछि विभिन्न जेनजी समुहले आपत्ति जनाएका छन् । यसैबीच रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । साथै फ्रन्टले नियुक्त गरिएका नातेदारको तत्काल पदमुक्ति र प्रधानमन्त्रीको स्पष्टिकरण माग गरेको छ । साथै फ्रन्टले सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारीको माग गरेको छ ।
१८- सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन् । मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउने मार्ग प्रशस्त गरेको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत मार्गदर्शन कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गरिनेछ । स्टील र कंक्रिटमा आधारित निर्माण प्रविधि महँगो, पर्यावरणमा नकारात्मक प्रभाव पार्ने, ग्रामीण क्षेत्रमा निर्माण सामाग्रीको सीमित पहुँचका कारण सस्तो र वातावरणमैत्री संरचनाको महत्व बढ्दै गएको छ । यसलाई ध्यान दिंदै परम्परागत रुपमा प्रयोग हुँदै आएको ग्रामीण स्तरमै उपलब्ध हुने बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रोत्साहन र प्रवर्धन गर्न मार्गदर्शनले जोड दिएको मन्त्री घिसिङले बताए । उनले ईंटा, सिमेन्ट र फलाम जस्ता सामग्रीमा निर्भरता घटाउँदै स्थानीय रूपमा उपलब्ध बाँसलाई संरचनात्मक प्रयोगमा ल्याउन सकिने र यसबाट किफायती संरचना निर्माण हुँदा विपन्न र गरिबीको रेखामुनि रहेका परिवारले पनि टिकाउ आवास बनाउन सक्ने उल्लेख गरे । बाँस छिटो बढ्ने वनस्पति समेत भएका कारण यसको प्रयोगलाई प्रवर्धन गर्न सकिएमा अन्य निर्माण सामाग्रीका कारण पर्यावरणमा परिरहेको नकरात्मक प्रभावलाई समेत कम गर्न सकिने उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा बाँसको भवन डिजाइन तथा निर्माण प्रविधि सम्बन्धमा भएका अध्ययन र अनुसन्धानबाट हासिल भएका तथ्य, ज्ञान र मापदण्डलाई आधार बनाएर मार्गदर्शन बनाइएको छ । मार्गदर्शनले बाँसको कटाई, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्धारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ । मार्गदर्शन निर्मणका क्रममा शहरी विकास तथा भवन निर्माणका प्राविधिकसहित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र थापाथली क्याम्पस, नेपाल गुणस्तर तथा नापतौल विभाग र मदन भण्डारी विश्वविधालयमा आवश्यक परिक्षण गरिएको थियो । बाँसजन्य निर्माण समाग्री प्रवर्धनका लागि नीतिगत व्यवस्थाको मागसहित खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बसेका थिए ।
१९- बंगलादेशको अन्तरिम सरकारले फेरि एक पटक पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको लागि भारतलाई आधिकारिक पत्र पठाएको छ । यो जानकारी अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले प्रदान गरेका हुन् । बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार, यो पत्र नोभेम्बर २१, शुक्रबार भारतलाई पठाइएको थियो । यो नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोग मार्फत पठाइएको थियो । रिपोर्टका अनुसार, बंगलादेशले अहिलेसम्म शेख हसिनाको भारतलाई सुपुर्दगीको लागि तीन पटक अनुरोध गरिसकेको छ । यसअघि गत वर्षको डिसेम्बर २० र २७ मा उनको सुपुर्दगीको लागि पत्र पठाइएको थियो । भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिना र उनको सरकारका पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मानवताविरुद्धको अपराधको लागि मृत्युदण्डको सजाय सुनाएको थियो । दुवैको मुद्दा उनीहरूको अनुपस्थितिमा चलेको थियो । ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हत्यालाई उक्साउने र हत्याको आदेश दिने आरोपमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो । बाँकी मुद्दामा उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । अन्तर्राष्ट्रिय अपराध अदालतले उनीहरूलाई पाँचवटा मुद्दामा अभियोग लगाएको थियो । न्यायाधिकरणले जुलाई २०२४ को विद्यार्थी आन्दोलनको क्रममा भएका हत्याकाण्डको मुख्य योजनाकार शेख हसिनालाई नाम दिएको थियो । तेस्रो अभियुक्त, पूर्व आईजीपी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । मामुन हिरासतमा छन् र उनी भने सुनुवाईको साक्षी बनेका थिए । हसिनालाई मृत्युदण्डको सजाय सुनाउने अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण उनकै पहलमा स्थापना भएको थियो । यो २०१० मा स्थापना भएको थियो । यो अदालत १९७१ को बंगलादेश मुक्ति युद्धको समयमा भएका युद्ध अपराध र नरसंहारका मुद्दाहरूको अनुसन्धान र सजाय दिनको लागि सिर्जना गरिएको थियो । यो न्यायाधिकरण स्थापना गर्न १९७३ मा कानून पारित भए पनि, प्रक्रिया दशकौंसम्म रोकिएको थियो। यसपछि, हसिनाले २०१० मा यसलाई स्थापना गरे ताकि अपराधीहरूलाई मुद्दा चलाउन सकियोस् ।
२०- अर्घाखाँची सिमेन्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । विभागले आइतबार गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि दुई लाख पाँच हजार जरिवाना गरेको छ । त्यस्तै आइतबारको अनुगमनमा विभागले पञ्चकन्या स्टीलआकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेर सामान्य निर्देशन दिएको जानकारी दिएको छ ।
प्रतिक्रिया