×

जेनजी फ्रन्टको प्रश्न- जवाफदेहीताको बलमा बनेको सरकारमा नातावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ?

images

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा गरिएको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेको विषय बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ ।

भ्रष्टाचार र नातावादविरुद्धको जेनजी आन्दोलनको जगमा बनेको सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेपछि विभिन्न जेनजी समुहले आपत्ति जनाएका छन्  ।

यसैबीच रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । साथै फ्रन्टले नियुक्त गरिएका नातेदारको तत्काल पदमुक्ति र प्रधानमन्त्रीको स्पष्टिकरण माग गरेको छ ।

साथै फ्रन्टले सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारीको माग गरको छ ।

फ्रन्टको ध्यानाकर्षण: 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार हो ।

जेन-जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले नेपाल जेन-जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ । प्रत्यक्ष रूपमा जेन-जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुनेगरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष तत्काल निम्न मागहरू पूरा गर्न नेपाल जेन-जी फ्रन्ट जोडदार अपील गर्दछः

१. प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्ती ।

२. निज श्रेष्ठले अनैतिक नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी ।

३. सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी ।

४. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयभित्र हुने नियुक्ति, दरबन्दी र भूमिकालाई अब उप्रान्त पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण र कार्यान्वयन ।

५. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को को कुन कुन पदमा कार्यरत छन् ? सो को सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा समेत राख्नुपर्ने कानूनी व्यवस्था गरी त्यसको कार्यान्वयन ।

जेन-जी विद्रोहको म्यान्डेट नातावाद, कृपावाद, स्वेच्छाचारिता र मनपरी होइन, न्यायोचित प्रक्रिया र पारदर्शिता हो । यसको प्रतिकूल हुने गरी राज्य संयन्त्रमा देखिएका यस्ता विकृतिका विरुद्ध नेपाल जेन-जी फ्रन्ट निरन्तर सतर्क, मुखर र सङ्गठित भएर उभिनेछ !

सोमबार ९ मंसिर २०८२ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया