काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभावकारिता र जनविश्वास दिनानुदिन घट्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारप्रतिको भरोसा उठ्दै जाँदा समाजमा बेथिति र अपराधका घटना वृद्धि भएको टिप्पणी गरे।
बैठकलाई सम्बोधन गर्दै उनले देशमा पछिल्लो समय घटित घटनाहरू सामान्य नभएको बताए। "हाम्रो समाज कता गइरहेको छ, यसलाई एक–दुई वटा घटनाका आधारमा मात्र हेर्न मिल्दैन," उनले भने, "सरकार गठन भएदेखि कप्तानगन्जको घटना, धार्मिक–सामाजिक सद्भावको विषय वा मिटरब्याज, लघुवित्त पीडित र चिकित्सकहरूका विभिन्न आन्दोलनहरूले के देखाउँछन् भने जनतामा सरकारको प्रभाव र विश्वास खस्किँदै गएको छ।"
सांसद सिंहले अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कार जस्ता घटनाले सर्वसाधारण नागरिक दुःखी बनेको उल्लेख गरे। "जब समाजमा बेथिति बढ्छ र सरकारप्रतिको विश्वास तथा भरोसा उठ्छ, तब समाजमा स्वाभाविक रूपमा अपराध बढ्छ," उनले जोड दिँदै भने।
सरकारले जनताको भरोसा पुनः कायम गर्न र शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया