×

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु

images


चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।

लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ । 

सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए० को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।

जापानले ट्रिटियम बाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ ।  ती तत्वलाई पानीबाट हटाउन सकिदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ । 

आइएईएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षितरूपमा  महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ । 

चीन र दक्षिण कोरियाले जापानको उक्त कदमलाई अत्यन्त स्वार्थी भन्दै त्यसको कटु आलोचना गरेका छन् । उनीहरूले महासागर कुनै पनि देशको फोहर विसर्जन गर्ने स्थल नभएको बताएका छन् । 

“समुद्र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हो र फुकुसिमाको आणविक फोहोर पानीलाई जबरजस्ती समुद्रमा मिसाउनु अन्तरराष्ट्रिय सार्वजनिक हितको बेवास्ता गर्ने अत्यन्त स्वार्थी र गैरजिम्मेवारपूर्ण कार्य हो,” चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ । 

यसअघि चीन, मकाउ र हङकङले फुकुसिमा र टोकियो वरपरबाट जापानी समुद्री उपज आयातमा प्रतिबन्ध लगाएर विकिरण अनुगमनलाई तीव्र पारेका थिए । हङकङका प्रमुख कार्यकारी जोन लीले जलप्रवाहलाई गैरजिम्मेवार कदम भनेका छन् । 

वैज्ञानिकहरूले पानी प्रवाहबाट कुनै समस्या नहुने बताए तापनि सार्वजनिक चिन्ताका बीच दक्षिण कोरियाले पनि फुकुशिमाबाट माछा र खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले उक्त कदमविरूद्ध मैनबत्ती बालेर राजधानी सोलमा विरोध प्रदर्शन गरेको छ । 

बिहीबार ७ भदौ २०८० ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया