काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबीच विवाद भएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अन्तत: संसदीय समितिमा पुगेको छ ।
नेकपा एमालेले यस विधेयकलाई फास्ट ट्रयाकमा पास गर्ने योजना बनाएको भएपनि सत्ताघटक नेपाली काँग्रेस तयार नभएपछि दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे र यो प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भयो । यो सँगै भूमि विधेयक संसदीय समितिमा पुगेको छ ।
गत वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक नेकपा एमालेले फास्ट ट्र्याकमा अगाडि बढाउन खोजेपछि अनेक आशंका उब्जिएको थियो । सत्ता घटक दल नै विरोधमा उत्रिएर चेतावनी दिन थालेपछि एमालेले यस विधेयकका विषयमा कांग्रेससँग छलफल गरेको थियो । छलफलमा एमालेबाट भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, मुख्य सचेतक महेश बर्तौला तथा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सांसद दिलेन्द्रप्रसाद बडू सहभागी थिए ।
अब सहमति अनुसार बिहीबार प्रतिनिधि सभाले भूमि विधेयकलाई संसदीय समितिमा पठाएको छ । अब यो विधेयक प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल हुने छ ।
प्रतिक्रिया