काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा विघटित प्रतिनिधिसभाका तीन ठूला दलका नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठक सुरु भएको छ । राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल सुरु भएको जनाएको छ ।
दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवास बोलाइएको छलफल केही बेर ढिला गरी सुरु भएको हो । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेको जनाइएको छ ।
कांग्रेस र एमालेका बहुमत निवर्तमान संसद प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट लिएर गएको बेलामा प्रधानमन्त्रीसहित ती दलका शीर्ष नेतालाई राष्ट्रपतिले एक ठाउँमा राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जेन-जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । अहिले राष्ट्रपतिको पहलमा प्रत्यक्ष संवाद गरेकी हुन् ।
प्रतिक्रिया