काठमाडौँ, ७ भदौ (२०८३)। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) पत्नी निकिता पौड्यालसहित ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आठ दिने चीन भ्रमणमा जाने गरी भएका सबै तयारीहरू हाललाई स्थगन गरिएका हुन्।
चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटघाटको समय सुनिश्चित हुन नसक्नु र नेपालभित्रको बदलिँदो राजनीतिक परिस्थितिलाई भ्रमण स्थगित हुनुको मुख्य कारण मानिएको छ।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकल भेटवार्ता गरेका लामिछानेले चीनमा पनि सोही स्तरको कार्यकारी प्रमुख वा राष्ट्रपति सी चिनफिङसँगको भेटलाई मुख्य एजेन्डा बनाएका थिए। चिनियाँ पक्षबाट राष्ट्रपतिसँगको भेटको तालिका (कन्फर्मेसन) सुनिश्चित नभएपछि उनले तत्काल नजाने निर्णय लिएका हुन्।
नेपालभित्रै दलहरूबीचको समीकरण र आन्तरिक साङ्गठनिक व्यस्तता बढेकाले पनि यो भ्रमण प्रभावित भएको रास्वपा स्रोतले जनाएको छ। लामिछानेको भ्रमण तालिकामा बेइजिङको औपचारिक बसाइपछि तिब्बतको धार्मिक स्थल कैलाश मानसरोवर जाने विशेष कार्यक्रम समेत तय भइसकेको थियो।
रास्वपा उच्च नेतृत्वका अनुसार यो भ्रमण पूर्ण रूपमा रद्द भएको नभई प्राविधिक रूपमा केही समयका लागि मात्र सारिएको हो । भ्रमणको नयाँ औपचारिक मिति तय हुन बाँकी रहे पनि लामिछाने आगामी असोज (मध्य सेप्टेम्बर) तिर चीन जान सक्ने सम्भावना रहेको छ ।
सभापति लामिछानेको भ्रमण रोकिए पनि रास्वपासहितको संघीय संसद्का ५ जना सांसद तथा कर्मचारीहरूको टोली भने सोमबार (भदौ ८ गते) चीन जाने कार्यक्रम यथावत रहेको छ ।
बेइजिङमा आयोजना हुन लागेको 'विकासशील देशका सांसदहरूको आठौँ सेमिनार' मा भाग लिन यो टोली ७ दिनका लागि चीन जान लागेको हो ।टोलीको नेतृत्व प्रतिनिधिसभाका रास्वपा सांसद कमल सुवेदीले गर्नेछन् । टोलीमा राष्ट्रिय सभाका सांसदहरू झक्कु सुवेदी र किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसद्का उपसचिव शारदा भण्डारी सहभागी छन् ।
प्रतिक्रिया