×

६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

images

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली आज मंगलबार साँझबाट जोडिदिने भएको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणले आजै निर्णय गरेको हो । 

बिजुलीको वक्यौता महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलसहित ६ उद्योगको लाइन काटिदिएको थियो ।

प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यको असहमतिका बाबजुद बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत काटिएका लाइन जोडिदिन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

यस्तोमा प्राधिकरणले आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरे नियमअनुसार बक्यौता रकम असुली गर्ने सर्तमा बिजुली जोड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि नै घिसिङलाई बालुवाटारमा बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए । तर, घिसिङले ओलीको निर्देशन मानेका थिएनन् । ओलीको निर्देशन नमानेपछि सरकारले उनलाई हटाउने गरी स्पष्टीकरण तयारी गरेको थियो ।

प्राधिकरणले गत असार १० मा ६१ वटा उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न भन्दै पत्र पठाएको थियो । उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ हो । तर विद्युत्‌को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको थियो ।

मङ्गलबार ८ साउन २०८१ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया