×

सुनचाँदीको बजारमा उतारचढाव: हिजो बढेको मूल्य आज फेरि घट्यो

images

काठमाडौँ, ९ असार  । नेपाली बजारमा लगातार उतारचढाव भइरहेको सुनचाँदीको मूल्यमा मङ्गलबार फेरि गिरावट आएको छ। सोमबार झन्डै डेढ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ बढेर २ लाख ८८ हजार ७०० पुगेको थियो।

गत हप्तादेखि नै सुनको मूल्यमा ठुलो उतारचढाव देखिँदै आएको छ। गत शुक्रबार इतिहासकै ठुलो गिरावट आउँदै तोलामा १० हजार ५०० रुपैयाँ घटेको सुनको भाउ आइतबार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ५९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। सोमबार भने चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७३० रुपैयाँ पुगेको थियो।

ऐतिहासिक रेकर्डको पृष्ठभूमि

नेपाली सुनचाँदी बजारको इतिहासलाई हेर्दा गत माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। तर त्यसपछिका महिनाहरूमा बजारमा केही सुधार र गिरावट आउने क्रम जारी छ।


अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको मजबुतीका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य स्थिर हुन नसकेको व्यवसायीहरू बताउँछन्।

मङ्गलबार ९ असार २०८३ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया