काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ५६ हजार ३४७ पटकको कारोबारमा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको १ करोड २६ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सालपा विकास बैंकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल समृद्धि फड २ को इकाईमूल्य यस दिन सर्वाधिक ४.८१ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि सामान्य रहेको छ।
प्रतिक्रिया