काठमाडौँ । उर्जामन्त्री कुलमन घिसिङले तराई/मधेशको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माणको अनुगमन गर्दा स्थानीय बासिन्दाले भोग्दै आएको दैनिक सास्ती, जोखिम र आक्रोस प्रत्यक्ष देख्दा मन भारी भएको बताएका छन् ।
कुलमानले आफु स्वयम् डुंगा चढेर नदी पार गरेको र त्यो जोखिमपूर्ण यात्राले स्थानीयका वर्षौँदेखिका कष्ट कति चुनौतीपूर्ण छन् भन्ने गहिरो अनुभूति गराएको बताउदै आफुलाई यो पुललाई तत्काल सम्पन्न गर्न अझ गम्भीर, संवेदनशील र जिम्मेवार बनाएको उल्लेख गरेका छन् ।
उनले भने छन्-
तराई/मधेशको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण स्थल पुगेँ । २०६८को जेठमा तीन वर्षमै बन्ने गरी ठेक्का सम्झौतासहित सुरु गरिएको यो पुल आजसम्म अधुरो छ र यसको सबैभन्दा धेरै मार स्थानीय बासिन्दाले बेर्होनु परिरहेको छ । अनुगमनका क्रममा स्थानीय बासिन्दाले भोग्दै आएको दैनिक सास्ती, जोखिम र आक्रोस प्रत्यक्ष देख्दा मन भारी भयो ।
स्थानीयको आवतजावत तत्काल सहज बनाउन अस्थायी विकल्पबारे पनि विस्तृत छलफल गरियो । र, त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ । मधेश क्षेत्रको विकास, स्थानीयको सहज जीवन र सुरक्षित भविष्यका लागि यो पुल अत्यन्तै महत्वपूर्ण छ । त्यसैले निर्माण व्यवसायीलाई काममा अब ढिलाइ नगरी तीव्र गतिमा अघि बढाउन स्पष्ट निर्देशन दिइएको छ । निर्माण व्यवसायीबाट तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । अब प्रतिबद्धता मात्र होइन—यसलाई यथार्थमा परिणत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकातर्फबाट निरन्तर अनुगमन, सहजीकरण र जिम्मेवारीपूर्वक साथ जारी रहनेछ । प्राविधिक पक्षका विषयमा पनि गम्भीर प्रश्नहरू उठेका छन् । यदि प्राविधिक समस्या आएमा सम्वन्धित पक्षहरू जिम्मेदार रहने नै छ ।
प्रतिक्रिया