×

त्रिविमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण फेरि किचलो

images

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा बढ्दो राजनीतिक हस्तक्षेपका कारण फेरि किचलो सुरु भएको छ । पछिल्लो घटनाक्रममा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो ।

समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्न सकेका छैनन् । सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उनीहरू बुधबारदेखि नियमित काममा फर्केका छन् । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम गरिरहेका छन् ।

विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आफूले भने अनुसारको व्यक्तिलाई विभागीय प्रमुख बनाउन दबाब दिँदै केही विद्यार्थी सङ्गठनका नेताले पदाधिकारी तथा प्राध्यापकलाई आक्रमणको धम्की दिएका छन् ।

त्रिविको कार्यविधि अनुसार वरिष्ठताका आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टीका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो । ३२ साउनमा तत्कालीन विभाग प्रमुख प्राडा युवराज लुइँटेलको पदावधि सकिनुअघि लुइँटेलले नै नयाँ विभागीय प्रमुख नियुक्तिका लागि सहप्राध्यापकहरू पासाङ शेर्पा, टीका गौतम र मनहरि ढकालको नाम सिफारिस गरेका थिए । तर डिन प्राडा कुशुम शाक्यले दोस्रो नम्बरमा रहेको गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि शिक्षाध्यक्षसमक्ष सिफारिस गरेको दोष लागेको छ ।

उक्त सिफारिसलाई शिक्षाध्यक्षले कार्यकारी परिषद्को बैठकमा पेस गर्नुपर्ने हुन्छ । तर को वरिष्ठ भन्ने विषयमा विवाद भएपछि शिक्षाध्यक्ष कार्यालयले समाजशास्त्र विभागमा कार्यरत सम्पूर्ण प्राध्यापकको विवरण पठाउन हालै मात्र डिन कार्यालयलाई लिखित निर्देशन दिएको छ । उक्त निर्देशनको जवाफ आइसकेको छैन । समाजशास्त्र विभाग साउन ३२ गतेदेखि नै प्रमुखविहीन छ ।

डिन कार्यालयबाट आएको नामावली अनुसार नियुक्ति गर्न आफूलाई विद्यार्थीबाट धम्की आएको त्रिविका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, “एक जना विद्यार्थीले बुधबार बिहान मात्रै फोन गरेर आफूले भनेको व्यक्तिलाई डिन नियुक्त नगरे जहाँ भेट्यो त्यहीँ सिध्याइदिने धम्की दिएका छन् । यस्तो अवस्थामा विश्वविद्यालयभित्र बसेर कसरी काम गर्ने ?”

बिहीबार ६ भदौ २०८१ ०६:५१ AM मा प्रकाशित

प्रतिक्रिया