×

काठमाडौंका सडकमा थुप्रिएको फोहर धमाधम उठाइँदै, भोलिसम्ममा उठाइसक्ने

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडकमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 

उनका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ । अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । 

यस्तै, आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उनले बताए । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

सडकका फोहर उठिसके पछि भने कुहिने र नकुहिने फोहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फोहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् ।

अहिले दैनिक झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् । गएको शुक्रवारदेखि काठमाण्डौबाट नियमित रुपमा फोहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् ।

दुई महिनादेखि थुप्रिएको फोहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

सोमबार ६ भदौ २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया