काठमाडौँ । समाजवादी मोर्चाले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको बताएको छ ।
शुक्रबार समाजवादी मोर्चाका चार नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेपाल, नेत्र विक्रम चन्द विप्लव र महेन्द्र राय यादवले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्याउने सहमतिप्रति घोर बिरोध तथा असहमति प्रकट गरका हुन् ।
समाजवादी मोर्चाले यस विषयमा सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान समेत गरेको छ ।
समाजवादी मोर्चाको विज्ञप्ति:
भारत र चीनबीच हालै पुलान- गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु दुई पक्षीय व्यापार पुर्नस्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ ।
ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टी गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसै बीच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको छ ।
नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर बिरोध तथा असहमति प्रकट गर्दछ । साथै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान गर्दछ ।
प्रतिक्रिया