काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु र २ हजार ८९९ जना घाइते भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनुहँुदै गृहमन्त्री लेखकले प्रहरीका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु भएको जानकारी गराए । उनले भने- 'द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई रु १० लाखका दरले राहत रकम प्रदान गरिएको छ । घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक रु ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिँदै आएको छ ।'
२- समाजवादी मोर्चाले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको बताएको छ । शुक्रबार समाजवादी मोर्चाका चार नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल नेपाल, नेत्र विक्रम चन्द विप्लव र महेन्द्र राय यादवले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्याउने सहमतिप्रति घोर बिरोध तथा असहमति प्रकट गरका हुन् । समाजवादी मोर्चाले यस विषयमा सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान समेत गरेको छ ।
३- नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति टिप्पणी गर्दै कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम नहुने बताएका छन् । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर भण्डारीले पार्टी एकतामा असहयोग गर्ने आफुहरुले नसोचेको भन्दै उनले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको बताए । उनले हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम नहुने स्पष्ट गरेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने- 'अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।'
४- नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साहसहितलाई प्रवेश गराएका हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
५- इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमास हतियार बिसाउन र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभएमा गाजा शहर ध्वस्त हुने चेतावनी दिएका छन् । रक्षामन्त्री काट्जको यो चेतावनी यस्तो समयमा आएको हो जब इजरायली मन्त्रिपरिषद्ले व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधको बाबजुद गाजा शहरमा ठूलो मात्रामा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको छ । रक्षामन्त्री काट्जले चेतावनी दिदै भनेका छन्- 'यदि हमास सहमत भएन भने, गाजा शहर पनि रफाह र बेइत हानुन जस्तै भग्नावशेषमा परिणत हुनेछ ।'
६- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । विधेयक पेश गर्दै समितिले सरोकारवालाहरूको माग, सरकारले शिक्षकहरूसँग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए । सभापति थापाले विद्यार्थीको शिक्षा पाउने अवसरबाट वञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको बताए ।
७- भारतको संसद परिसरमा एक युवक पर्खालबाट हाम फालेर प्रवेश गरेको घटना बाहिरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार, शुक्रबार बिहान एक युवक पर्खाल नाघेर संसद भवनको गरुड द्वार पुगेको उल्लेख छ । उनलाई सीआईएसएफ सुरक्षाकर्मीहरूले तुरुन्तै समातेको बताइएको छ । प्रहरीले युवकको पहिचान उत्तर प्रदेशका रमाको रूपमा गरिएको छ, जो मानसिक रूपमा अस्थिर देखिएको बताइएको छ । यो घटना शुक्रबार स्थानीय समाचार अनुसार बिहान ६.३० बजे भएको थियो ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका हरि प्रसाद कँडेललाई निलम्बन गरेको छ । कँडेललाई नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न रहेको अर्प्मा रूपन्देही जिल्ला प्रहरीले प्रकाउ गरेपछि रास्वपाको अनुशासन समितिले निलम्बन गरेको हो । अनुशासन समितिले भनेको छ- बागमती प्रदेश प्रशिक्षण विभागमा रहनु भएका तपाई हरि प्रसाद कडेलका विषयमा हाल आएका सूचनाहरुको आधारमा नेपाल सरकारको अध्यावदिक कानून विपरितका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानविन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारवाही समेत हुन सक्ने गरी हाल तपाईलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदछौं ।
९- नेकपा एकीकृत समाजवादीले पार्टीका सबै कमिटीलाई भदौ ९ गते चौथो स्थापना दिवस मनाउने भएको छ । पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई पनि दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छ । पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तरक्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने कार्यक्रम तय भएको र केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा आयोजना गर्ने र पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबिचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गर्ने कार्यक्रम तय गरिएको छ । तत्कालीन नेकपा एमालेमा नेपालसहितका नेताहरुको असन्तुष्ट बनेपछि २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादीको स्थापना गरेका थिए ।
१०- श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । विक्रमसिंघे राष्ट्रपति हुँदा लन्डनको व्यक्तिगत भ्रमणको लागि राज्य कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको श्रीलंकन मिडिया डेलिमिररले उल्लेख गरको छ । विक्रमसिंघे आज बिहान वित्तीय अपराध अनुसन्धान विभागमा बयानका लागि पुगेको समयमा पक्राउ गरिएको बताइएको छ ।
११- नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए। त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए ।
१२- नेकपा एकीकृत समाजवादी र विद्रोही नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गरेका थिए भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गरेका थिए ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद निशा डाँगी र राप्रपाकी सांसद अनिता नेपालीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
१४- पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन भएको छ । उनका नजिकका साथी बाल मुकुन्द शर्माले यसको पुष्टि गरेका छन् । ६५ बर्षिय जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो । जसविन्दर भल्लाको अन्तिम संस्कार शनिबार मोहालीमा गरिने बताइएको छ । जसविन्दर भल्ला पञ्जाबी फिल्म उद्योगमा एक प्रसिद्ध नाम थिए ।
१५- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण भएको बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै नेता खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपाली भूमिमाथिको अतिक्रमणमात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका हुन् ।
१६- आजदेखि फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् । फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ लाई हलहरूले बढी प्राथमिकता दिएका छन् । फिल्म ‘माग्ने राजा’लाई देशभर १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ हाराहारीमा शो उपलब्ध गराइएको छ भने फिल्म ‘ताराहरू’ ले केवल ३० शो मात्र पाएको देखिएको छ । तर, शो संख्या पहिलो दिनमा दर्शकको साथ अनुसार दोस्रो दिनदेखि परिवर्तन हुदै जाने हुन्छ । फिल्म ‘माग्ने राजा’ मा अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिका निभाएका छन् भने फिल्ममा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय रहेको छ । ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् । त्यस्तै बाबु-छोरा र दिदी-भाइबीचको सम्बन्धको कथामा बनेको फिल्म ‘जनै हराएको मान्छे’ मा अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ । हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । त्यसैगरी फिल्म 'ताराहरू’लाई कलाकार आशान्त शर्माले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा आशान्त स्वयंको मुख्य भूमिका छ भने मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ ।
१७- थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ । यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित रहेको बताइएको छ । यस आरोपमा उनी दोषी ठहरिएका भए, उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । अन्तर्वार्तामा उनले थाईल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय, प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए । उक्त विद्रोहले उनकी बहिनी यिंगलक शिनावात्राको सरकारलाई ढलेको थियो । थाईल्याण्डको लेसे-मजेस्टे कानूनले राजतन्त्रको आलोचना वा अपमान गर्नुलाई अपराध मानिन्छ । तर आलोचकहरू यी कानुन प्रायः कार्यकर्ता र राजनीतिक विरोधीहरूलाई लक्षित गर्न प्रयोग गरिने गरेको बताइएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३१० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।
१९- उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परिवारहरूसँग रात्रिभोज आयोजना गरिएको रिपोर्ट गरेको छ । यस समारोहमा किमले विदेशी अपरेशनमा संलग्न सैनिकहरूलाई सम्मान गर्दै भने- 'हाम्रो सेनाले देशको शक्ति प्रमाणित गरेकोमा कुनै शंका छैन ।' यसअघि बिहीबार किमले विदेशी अपरेशनका अधिकारीहरूलाई भेटेर युक्रेनमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उत्तर कोरियाली सांसदहरूका अनुसार रुसको लागि लड्दा लगभग ६०० सैनिक मारिएको बताइएको छ । रुसको पक्षमा युक्रेन युद्धमा कुल १५ हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ ।
२०- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । राप्रपा अध्यक्ष लिङदेनले लिपुलेक बारे भारत र चीनबीचको सति प्रति आपत्ति जनाउदै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष असर पार्ने निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार भएको बताएका हुन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्सा र सन्धि–सम्झौताहरूले स्पष्ट देखाउँछ भन्दै यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाविपरीतको कार्य भएको बताएका छन् ।
प्रतिक्रिया