नेपालबाट धर्म सन्तानको नाममा बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले धर्म सन्तानका नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विभिन्न देशमा पुर्याइएको देखाएको छ ।
२०६७ सालमा तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समिति बनाएर १८ देशमा धर्मपुत्र/धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको थियो । तर मुलुकी देवानी संहिता २०७४ लागू भइसकेपछि विदेशी नागरिकले नेपाली बालबालिकालाई धर्मपुत्र/पुत्रीको रुपमा ग्रहण गर्न नसक्ने व्यवस्था गरेको छ ।
सरकारसँग २०६७ देखि २०७४ सालको बीचमा अमेरिका, फ्रान्स, डेनमार्क, नर्वे, क्यानडा, स्वीट्जरल्यान्ड र बेल्जियममा गरी २४ जना बालबालिका मात्रै धर्म सन्तानको रुपमा विदेश गएको अभिलेख रहेको छ । तर अमेरिकी डिपार्टमेन्टको अभिलेख र अमेरिकाले नेदरल्यान्डकाे ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेशनल ल’ लाई बुझाएको रिपोर्टमा नेपालबाट १ सय ७३ जना बालबालिका धर्म सन्तानको रुपमा विदेश लगेको देखाएको छ ।
यसरी हेर्दा सरकारको अभिलेखमा रहेका २४ जनाबाहेक १ सय ४९ जना बालबालिकाको अभिलेख नराखि धर्म सन्तान बनाएर गैरकानुनी रुपमा विदेश पुर्याएको महालेखाले जनाएको छ । मन्त्रालयले ११ देशमा धर्म सन्तानको रुपमा लगेका बालबालिकाको तथ्याङ्कसमेत राखेको छैन ।
धर्मपुत्र/पुत्रीको तथ्याङ्क अभिलेखाङ्कन गर्न सरकारले आर्थिक वर्ष २०७७/७८ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि खर्च नभएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया