×

न्युरोडमा फुटपाथ विस्तार कार्य रोक्न सहमत भए मेयर बालेन साह

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह न्युरोडमा फुटपाथ विस्तार कार्य रोक्न सहमत भएका छन् । स्थानीय जनताको चर्को विरोधपछि हिजो बिहान बालेनले स्क्याभेटर निर्माणस्थलबाट फिर्ता लगेका थिए । आज सोमबार अपराह्न स्थानीय जनता र महानगरबिच भएको सहमतिअनुसार आगामी मंसिर महिनासम्म फुटपाथ विस्तार कार्य रोकिने छ ।

सहमतिअनुसार फुटपाथ विस्तारले पारेको असरबारे अध्ययन गर्न समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा काम अगाडि बढाइने भएको छ ।

तर ​​​वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिने छ । जहाँ कुनै विरोध छैन । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर २२, २३ र २४ का अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्यसचिव छन् ।​

कार्यदलले वडा नम्बर २४ मा फुटपाथ विस्तारले पारेको असर सकारात्मक अथवा नकारात्मकबारे अध्ययन गरी मङ्सिर २ मा प्रतिवेदन बुझाउने छ । फुटपाथ विस्तारको काम रोकिएपछि वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले न्युरोडमै आएर विजयी सभा गरेका थिए । जहाँ उनले स्थानीय जनताको भावनाविपरीत महानगरले काम गर्न नहुने बताए ।
 

सोमबार ७ साउन २०८१ ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया