काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष (नियमित महाधिवेशन पक्षधर) ले आगामी साउन २९ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको औपचारिक घोषणा गरेका हुन् ।
यो घोषणासँगै विशेष महाधिवेशनपछि कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र औपचारिक विभाजनको सङ्कट थप गहिरिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
कार्यक्रमका संयोजक तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले इतर समूह अब रक्षात्मक मात्र भएर नबस्ने चेतावनी दिए । "हाम्रो राष्ट्रिय भेला साउन २९ गते काठमाडौँमा हुन्छ । यो कसैलाई थ्रेट (धम्की) होइन, काम गरेर देखाउने हो," नेता सिंहले भने, "हामीले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेका छौँ, अब यो राष्ट्रिय भेलापछि हामी आफ्नो नयाँ बाटो तय गर्छौँ ।" उनले कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आफूहरू प्रतिबद्ध भए पनि संस्थापन पक्षले एकलौटी गर्न खोजेको आरोप लगाए ।
विशेष महाधिवेशनको प्रक्रिया र वैधानिकतामाथि प्रश्न उठाउँदै इतर पक्षका नेताहरूले वर्तमान सभापति गगनकुमार थापामाथि कडा प्रहार गरेका छन् । नेताहरूले विशेष महाधिवेशनको बहानामा गगन थापाले पार्टी कब्जा गरेको र विधि-विधान भत्काएको आरोप लगाए ।
नेता कृष्णप्रसाद सिटौलाले संस्थापन इतर पक्षले अघि सारेका साना मागहरूलाई समेत सभापति थापाले उपेक्षा गरेको गुनासो गरे । उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले अहिलेको लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न नसक्ने दाबी गरे ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरू पदको बार्गेनिङमा नरहेको तर आत्मसम्मानमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
इतर समूहका नेताहरूले पार्टी नेतृत्वलाई सहमतिका लागि साउन मसान्तसम्मको 'अल्टिमेटम' दिएका छन् । यदि साउन महिनाभित्र पनि सभापति गगन थापाले इतर पक्षका भावना र १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई समेट्न गम्भीर प्रयास नगरे नयाँ राजनीतिक दल घोषणा गर्नेसम्मको तयारी इतर पक्षले गरेको बुझिएको छ ।
प्रतिक्रिया