×

राजनीति भ्रष्ट हुनुमा सबैभन्दा ठुलो त्रुटी माओवादीको छ- विप्लव

images

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव अहिलेको नेपालको राजनीति भ्रष्ट हुनुमा सबैभन्दा ठुलो त्रुटी माओवादीको भएको बताएका छन् ।

४७औं पुष्पलाल स्मृतिमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै विप्लवले आफ्नो विचारलाई, मान्यतालाई छोडेर अरुलाई दोष दिन नमिल्ने भन्दै अहिलेको राजनीति भ्रष्ट हुनुमा बिग्रिनुमा सबैभन्दा ठुलो दोष माओवादीको भएको बताए ।

उनले भने- 'नेपालको आजको राजनीति भ्रष्ट हुनुमा सबैभन्दा ठुलो त्रुटी माओवादीको छ । अहिले देश किन विकास भएन ? सहकारीको पैसा कहाँ गयो ? जवाफ दिन सक्छौं ? यो कार्यकर्ताको कारणले होइन, नेताहरुको कारणले हो ।'

विप्लवले आफुहरुले माओवादी नफुटाएर प्रचण्डसँग विद्रोह गरेको बताए । उनले आफुले माओवादी विग्रेको आँखा अगाडी देखेपछि विद्रोह गरेको बताउदै भने- 'हामीले प्रचण्डसँग पार्टी फुटाएको होइन, विद्रोह गरेको हो । मैले देखेको थिए, माओवादी बिग्रिदै थियो । आँखा अगाडी बिग्रेको देखे पछि विद्रोह गरेको हो ।' 

विप्लवले नेपालमा कम्युनिष्ट अन्दोलन ठुलो बहसमा परेको बताउदै नेपालको राजनीति पनि स्पष्ट दिशामा अगाडी बढ्न नसकेको र कम्युनिष्ट आन्दोलन पनि अलमलमा परेको बताए । उनले भने- 'हामीले मार्क्सवादलाई नयाँ किसिमले बिचार गर्नुपर्ने समय आएको छ । नेपालको कम्युनिष्टमा अलमल गर्ने मध्यमार्गी धार पनि छ । तर अहिले नयाँ समय अनुसार युवा पुस्तालाई कसरी प्रशिक्षित गर्ने भन्ने प्रश्न अहिले आएको छ । आज राजनीतिक बहस शिथिल भएपछि यसको फाइदा पुँजीवादीहरुले फाइदा उठाइरहेका छन् ।'

विप्लवले अहिलेको राजनीति सत्तामा जानेले भ्रष्टाचार गर्ने र बाहिर बस्नेले चन्दा उठाएर जनतालाई दुख दिने प्रवृति बढेको बताउदै युवा पुस्तालाई हिजोको किसिमले मार्क्सवाद पढाएर अब अहिले काम नभएको बताए ।

विप्लवले नेपालको कम्युनिष्टमा व्याख्या मार्क्सवादको गर्ने र काम पुँजीवादको गर्ने गरेकाले बिग्रिएको टिप्पणी गरे । उनले यो अहिलेको कम्युनिष्ट आन्दोलनको समस्या भएको बताउदै अहिलेको बहस कुनै दल र नेताबीचको बहस नभएर सिंगो कम्युनिष्ट आन्दोलनको विषयको बहस भएको बताए ।

मङ्गलबार ७ साउन २०८२ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया