×

दुबई एयर शोमा भारतीय लडाकु विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

images

काठमाडौँ । दुबई एयर शोमा उडान प्रदर्शनको क्रममा भारतीय तेजस लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेनाले दुर्घटनामा पाइलटको पनि मृत्यु भएको बताएको छ ।

तेजस एमके-१ ले प्रदर्शन उडान गरिरहेको बेला अचानक नियन्त्रण गुमायो र दुर्घटनाग्रस्त भयो । जमिनमा ठोक्किएपछि ठूलो विस्फोट भयो र केही क्षणमै कालो धुवाँको मुस्लो हावामा उड्यो ।

सुरक्षा एजेन्सीहरूले तुरुन्तै उद्धार कार्य सुरु गरे । महिला र बालबालिका सहित ठूलो संख्यामा मानिसहरू दुबई एयर शोमा भाग लिन आएका थिए । भीडले विमान दुर्घटना देखेको थियो र अचानक धुवाँको मुस्लो उठ्दा आतंक सिर्जना भयो । एक घण्टा भन्दा कम समयमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

दुबईको स्थानीय मिडियाका अनुसार, प्रत्यक्षदर्शीहरूले दुर्घटना पछि हेलिकप्टर र दमकलहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए र आगो नियन्त्रणमा ल्याइएको थियो । लगभग ४५ मिनेटमा सम्पूर्ण घटना नियन्त्रणमा ल्याइएको थियो । 

एयर शोका अधिकारीहरूले तुरुन्तै दुर्घटना क्षेत्रलाई सिल गरे र सबै उडान कार्यक्रमहरू अस्थायी रूपमा रोके । विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

'भविष्य यहाँ छ' भन्ने विषयवस्तुमा आधारित एयर शो नोभेम्बर १७ देखि २१ सम्म दुबई वर्ल्ड सेन्ट्रलमा आयोजना हुँदैछ । यो दुबई एयर शोको १९औं संस्करण हो । यस पटक २०० भन्दा बढी विमानहरू प्रदर्शनमा छन्, जसमा व्यावसायिक, सैन्य, निजी जेट, युएभी र नयाँ पुस्ताको एयरोस्पेस प्रविधिहरू समावेश छन् । यो अहिलेसम्मकै सबैभन्दा ठूलो उडान र स्थिर प्रदर्शन हो । कार्यक्रममा ११५ देशका एक लाख ४८ हजार व्यापार आगन्तुकहरू र ४९० सैन्य र नागरिक प्रतिनिधिमण्डलहरू उपस्थित छन् ।

शुक्रबार​ ६ मंसिर २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया