काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- एआइजी डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा. केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका हुन् । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए ।
२- सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको हो । तीन महिनाको समय दिइएको आयोगमा जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठित आयोगमा सदस्य नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
३- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यको सरुवा जल तथा ऊर्जा आयोगमा गरेको छ ।
४- बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् । क्यानडाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेसँगै यस्तो घोषणा गर्ने पहिलो जी-७ देश बनेको छ । त्यस्तै क्यानडापछि अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ । प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै बेलायती प्रधानमन्त्री केइर स्टारमरले भनेका छन्- 'आज, प्यालेस्टिनी र इजरायली जनताको लागि शान्ति र दुई-राज्य समाधानको आशा जीवित राख्न, संयुक्त अधिराज्यले औपचारिक रूपमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिएको छ ।' गत जुलाईमा, स्टारमरले इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरू पालना गरेन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने बताएका थिए ।
५- प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा रहेकी छन् । हाल तीन जना मात्र मन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्न स्वतन्त्र, पुर्व कर्मचारी र अन्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेकी छन् । उनले आजै मन्त्रीहरुको टुंगो लगाउने गरि छलफल गरिरहेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले जेनजीका केहि प्रतिनिधिहरु, आफु निकट सहयोगीहरुसँग छलफल गरिरहेकी छन् । अहिलेसम्म महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सुदन गुरुङ, रक्षा बम, पुर्व न्यायाधीश अनिलकुमार सिन्हा लगायतको नामको बारेमा छलफल भएको छ । यी नामको विषयमा छलफल भएपनि निर्णय हुन बने बाँकी रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
६- राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचन समेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आइरहेकोले त्यसलाई बन्द गर्न निर्देशन दिएका हुन् । आयोगले विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय भएपनि यस्ता अभिव्यक्तिहरु संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने जनाएको छ । आयोगले भनेको छ: जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचन समेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो । तर यस्ता अभिव्यक्तिहरु संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपालको संविधानको धारा १९ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको व्यवस्था छ । नेपाल पक्षराष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा प्रत्येक व्यक्तिलाई बिना हस्तक्षेप विचारहरु राख्न पाउने अधिकारको व्यवस्थासँगै आफ्ना विचारहरु राख्दा अरुको अधिकार वा प्रतिष्ठाको सम्मान र राष्ट्रिय सुरक्षा वा नैतिकताको संरक्षण गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ । त्यस्तै, मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ र ३०६ मा गाली, बेइज्जती गर्न नहुने र दफा ३०७ मा त्यस्तो कार्य दण्डनीय हुने उल्लेख गरिएको छ । अतः आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत हुँदै कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरु नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।
७- काठमाडौँ महानगरपालिकाले रोकेको एम्बुलेन्स वितरण गर्ने कार्य फेरी सुचारु गरेको छ । महानगरका प्रमुख बालेन शाहले यस बारेमा जानकारी दिदै असोज ७ गतेदेखि एम्बुलेन्स वितरण शुरु गर्ने बताएका हुन् । बालेनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका स्थानलाई प्राथमिकता दिइएको बालेनले उल्लेख गरेका छन् । उनले स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु आफुहरुको कर्तव्य समेत भएको बताएका छन् । बालेनले यो मात्र सुरुवात भएको बताउदै कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने आफुहरुको लक्ष्य भएको बताएका छन् ।
८- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो । ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङलेले दशैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरिएको बताए ।
९- शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार केहि बेरअघि तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै सडक एकतर्फी सुचारु भएको हो । शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।
१०- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत भियतनामविरुद्ध खेल्ने ३३ खेलाडीको नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्ने तालिका रहेको छ । एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प सेप्टेम्बर २३ देखि शुरु हुने जानकारी दिएको छ । नेपाली प्रारम्भक टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अन्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेन्द्र विक, दिपेस गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुञ्जु, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ सन्तोष खत्रिसुबास बम सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा र योगेश गुरुङ रहेका छन् । नेपालले एशियन कप छनौटमा यस अघि खेलेका खेलमा हार बेहोरेको छ । जसमा मलेसियासँग २-० ले लाओससँग २-१ को हार बेहोरेको थियो ।
११- गत विहिबार तीन पटक नकारात्मक सर्किट लागेको नेप्से आज भने तिन अंकमा बढेको छ । आज आइतबार नेप्से १११. ७० अंकले घटेर २६२३.६२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका २ करोड ३२ हजार २२४ कित्ता शेयर ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र नन लाइफ इन्सुरेन्स बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ । आज सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, शिभम सिमेन्ट, जोशी हाइड्रो, अपि पावर, अन्खु खोला जलविद्युत, बलेफी हाइड्रो, हिमाल दोलखा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सबैभन्दा बढी ७.६४ प्रतिशतले गिरावट आएको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ८३ करोड १३ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ४८ करोड २६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
१२- नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लागेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको छ । यस अघि युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेटर प्रभावित भएका थिए । भिसा नलागेपछि शुक्रबार नै युएई प्रस्थान गर्नुपर्ने नेपाली क्रिकेट टिम रोकिएको थियो । युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न त्यसतर्फ जादै छ । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ ।
१३- मुस्ताङ भन्सार कार्यालयको नेचुङस्थित कोरला नाका पूर्ण रुपमा संचालनमा आएको छ । भन्सार विभागका अनुसार गत असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपनी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा मित्रराष्ट्र चीन र नेपालबीचको वैदेशिक व्यपारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेदेखि पूर्णरुपमा संचालनमा आएको हो । असोज ४ गते सम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतिय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । हाल यस नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैकको भदौ ३१ परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकिकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको भन्सार विभागले जनाएको छ ।
१४- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका छन् । डा. महतले पत्रकार सम्मेलन गरेर महामन्त्रीद्वय थापा र शर्माप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले अहिले पार्टीमा सबै जना एक हुनुपर्ने बेलामा घाउ लागेको बेला नुन छर्न खोजिएको आरोप लगाएका थिए । उनले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा नेतृत्व परिवर्तनको बहस गर्न खोज्नु ठीक बेठिक भएको बताए । उनले भने- ' अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो। तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ ।' डा. महतले नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि गम्भीर छलफल गर्ने बताउदै कसरी घटना घट्यो भन्ने बारे मूल्यांकन गर्ने बताए ।
१५- रसुवा पासाङ ल्हामु सडक खण्डमा ठुला सवारी पास हुन नसक्ने भएका छन् । रसुवा गोसाईकुण्ड गाउँपालिका-३ कुलुङ खोलास्थित पासाङ ल्हामु सडकखण्डमा अबिरल बर्षाको कारण खोलाको बहाब बढ्न गई उक्त खोलामा रहेको १० मिटर लम्बाई, २.५ मिटर चौडाई भएको पक्कि पुलको तल जगको बेशमा खोलाको बहाबले कटान गरी उक्त पुल जोखिम अवस्थामा रहेको, साना सवारी साधनहरु मात्र पास हुन सक्ने र ठुला सवारी साधन पास हुन नसक्ने भएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ११ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि भदौ ३१ गते पनि यहि मुल्यमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुन तोलाको २ लाख १६ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २६२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५८० मा कारोबार भएको थियो ।
१७- रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले स्पेनियलमाथि सहज जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा इडर मिलिताओ र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । यो यस सिजनमा रियल म्याड्रिडको लगातार पाँचौं जित हो । रियल म्याड्रिडको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी इस्पेनियलको यस सिजनमा यो पहिलो हार हो । इस्पेनियलको ५ खेलमा १० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
१८- अल नासरले साउदी प्रो लिग अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरेका थिए भने एक गोल किंग्सले कोम्यानले गरेका थिए । त्यस्तै मामाडाउ सियाल्लाले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ३ खेलमा ९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल रियादको यस सिजनमा यो दोस्रो हार हो ।
१९- बंगलादेशले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा सैफ हसनले सर्बाधिक ६१ रन बनाए भने टोवहिड हृदोयले ५८ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो । श्रीलंकाका लागि दासुन शानकाले ६४ रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाएका थिए । यो जितपछि बंगलादेशले सुपर फोरमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र फाइनलको सम्भावनालाई बलियो बनाएको छ । सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।
२०- मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे चिन्ता व्यक्त गर्दै भदौ २३-२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री लेखक लगायतलाई कानुनी कारबाही थाल्नुपर्ने बताएको हो । विज्ञप्तिमा प्रहरी तथा प्रशासनलाई राजनीतिक छायाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै शान्ति समाजले संवैधानिक तथा न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्ति पाएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया