×

कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन् - सभापति शेरबहादुर देउवा

images

काभ्रेपलाञ्चोक। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन्। उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनको दाबी छ । 

‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ’, देउवाले भने। उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे। उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए। 

उनले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहिनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई । तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुसी भएका छन् । कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन् । जनताको मन जित्ने गरी कामहरू गर्नुहोला ।'

सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए। “नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु’, उनले भने। हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो। ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ’, उनले थपे।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याए। उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘यो ठूलो गौरवको विषय हो।’

शनिबार ५ असोज २०८१ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया