×

भक्तपुर झडप प्रकरण: विश्वकप फाइनल हेर्ने क्रममा, १ जनाको मृत्यु, पक्राउ परेका १८ जनामाथि अनुसन्धान तीव्र

images

ईसञ्चारपाटी संवाददाता
भक्तपुर, ५ साउन

भक्तपुर — फिफा विश्वकप २०२६ को फाइनल खेल हेर्ने क्रममा भक्तपुरमा युवाहरूबीच भएको तीव्र विवाद र झडपमा परी एक जनाको मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षीय राज कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

 घटनामा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डीएसपी दीपक कार्कीका अनुसार साउन ४ गते (आइतबार) बिहान सूर्यविनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा रहेको 'थ्री इडिएट्स' होटलमा युवाहरू संयुक्त रूपमा विश्वकप फाइनल खेल हेरिरहेका थिए । खेल चलिरहँदा मदिरा सेवन गरेका ३–४ वटा समूहबीच एकाएक विवाद सुरु भएको थियो ।

सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै गएपछि समूहहरूबीच सामूहिक कुटाकुट भएको र सोही क्रममा कार्कीमाथि निर्घात कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विपक्षी समूहको आक्रमणबाट अचेत र गम्भीर घाइते भएका कार्कीलाई तत्काल उद्धार गरी थिमीस्थित मध्यपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचार भइरहेकै क्रममा सोमबार साँझ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन् ।

प्रहरीका अनुसार मृतक कार्कीको शरीरको बाहिरी भागमा कडा चोटपटक नदेखिएकाले भित्री चोट वा अन्य प्राविधिक कारणले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । शवलाई विस्तृत पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल (Kathmandu Medical College) मा राखिएको छ ।

१८ जना पक्राउ, छानबिन हुँदै

घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीको टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनास्थल र होटल आसपासबाट ३० जनाभन्दा बढीसँग सोधपुछ गरेकोमा घटनामा प्रत्यक्ष-परोक्ष जोडिएका १८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि मंगलबार जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिनुभयो । प्रहरीले होटलको सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा 'स्क्रिनिङ' गरिरहेको र कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका मुख्य दोषीहरूमाथि मात्रै ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

कार्कीका परिवार र आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। बर्दियाबाट भक्तपुर आइपुगेका मृतकका बुबा र अन्य आफन्तहरूले जिल्ला प्रहरी परिसर भक्तपुर र वृत्त जगातीमा पुगेर दबाब दिएका हुन्।

परिवारले यो सामान्य कुटपिट मात्र नभएर योजनाबद्ध हत्या भएको दाबी गरेका छन्। उनीहरूले पक्राउ परेका मुख्य ६ जना अभियुक्तहरूविरुद्ध 'कर्तव्य ज्यान' (Murder) को कसुरमा मुद्दा दर्ता गरी कानुनबमोजिम जन्मकैदको सजाय हुनुपर्ने माग राखेका छन्। मदिराको अनियन्त्रित बिक्री-वितरण र झडप हुँदाहुँदै पनि समयमै प्रहरीलाई खबर नगरेको भन्दै आफन्तहरूले 'थ्री इडिएट्स' होटलका सञ्चालकलाई पनि मतियारको रूपमा कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। मृतक कार्की परिवारको आर्थिक खम्बा रहेकाले उनको आश्रित परिवारलाई उचित क्षतिपूर्ति र न्यायको ग्यारेन्टी नभएसम्म शव नबुझ्ने अडान आफन्तहरूले राखेका छन्।

आफन्तहरूको दबाबपछि भक्तपुरका प्रहरी प्रमुखले कानुनभन्दा माथि कोही पनि नहुने भन्दै राजनीतिक वा अन्य कुनै पनि दबाबमा नपरी निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धता जनाउनुभएको छ। सिसिटिभी फुटेज र डिजिटल प्रमाणका आधारमा शतप्रतिशत दोषी देखिएका कसैलाई पनि नछोडिने प्रहरीले स्पष्ट पारेको छ।

अपराध, सुरक्षा र समसामयिक घटनाका ताजा विवरणहरूका लागि esancharpati.com नियमित अपडेट गर्दै गर्नुहोला।

मङ्गलबार ५ साउन २०८३ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया