काठमाडौँ । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।
उनले भने- 'लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ । अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।
विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन् ।
केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।
त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिब सुरेश जोशीले भने- 'विमानस्थलबाट आएका अधिकृतहरु मन्त्रालयमा दरबन्दी मिलान हुन्छ । दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ ।'
उनले दरबन्दी अनुसार मात्रै मन्त्रालयले अधिकृतहरु राख्ने बताए । त्यस्तै सरकारले पुर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानविन समिति गठन गरेको छ ।
उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालिन र दीर्घकालिन कार्ययोजना प्रश्तुत गर्ने लगायत कार्यादेश दिईएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।
प्रतिक्रिया