काठमाडौं । धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास असफल भएको छ । धराने जनताको खानेपानीको समस्या बोकेर काठमाडौं आइपुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट नै नदिएका हुन् । आज (मंगलबार) साम्पाङ रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए ।
साम्पाङले ल्याएको रित्तो गाग्री भने प्रहरीले सिंहदरबारभित्र लैजान दिएन । रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरेका साम्पाङले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटे । उनले मन्त्रीद्वयलाई धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक स्रोत सुनिश्चितताको लागि आग्रह गरेका थिए ।
मन्त्रीद्वयबाट आश्वासन पाएका मेयर साम्पाङ प्रधानमन्त्री ओलीलाई भेटेर धराने जनताको तर्फबाट पत्र बुझाउन चाहन्थे । तर, ओलीले भेट्ने समय नै नदिएको उनीनिकट स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीलाई भेट्नका लागि उनका स्वकीय सचिवहरुलाई पटक–पटक फोन गर्दा पनि समय नरहेको जानकारी आएको बताइएको छ । प्रधानमन्त्री ओलीलाई धराने जनताको तर्फबाट रित्तो गाग्री उपहार लिएर सिंहदरबार आइपुगेका साम्पाङलाई प्रधानमन्त्री ओलीले पनि भेट नै नदिई रित्तै फर्काइदिएका छन् ।
त्यसक्रममा उनले प्रधानमन्त्रीसँग भेट्न नपाएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूसँग ‘फेस गर्न नसकेको’आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेस गर्न सकेनन्, मलाई।’
खानेपानीको समस्या सुनाउन भन्दै उनी सोमबार रित्तो गाग्रो बोकेर काठमाडौं उत्रिएका थिए। मंगलबार सिंहदरबारमा उनी रित्तो गाग्रोसहित पुगेका थिए। प्रहरीले गाग्रो खोसेको थियो।
खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको मेयर साम्पाङले गुनासो गरिरहेका छन्।
प्रतिक्रिया