काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा कुनै इतिहास नभएका मानिसहरूले जनतालाई भ्रममा पारिरहेको बताएका छन्। काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै देश अफ्ठेरो अवस्थामा रहेको भन्दै सच्चा वामपन्थी र कम्युनिस्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
उनले भने, ‘पछिल्लो समय विचारको इतिहास, त्याग र तपस्याको भूमिका र निष्ठालाई कम महत्त्व दिने, कुनै वैचारिक इतिहास नभएकाहरू हावी हुँदै गइरहेका छन्। कुनै स्पष्ट विचार नभएकाका तत्त्वहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोगजस्तै लागेको छ।’
उनले आफ्नो पार्टी स्टन्टबाजी नगरेर राष्ट्रको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने सङ्कल्पसाथ अघि बढ्ने बताए। सभालाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको र यो प्रक्रिया अझै विस्तार हुने दाबी गरे। सहमति, सहकार्य र एकताकै जगमा समाजवादको यात्रा सफल हुने भन्दै उनले आफ्नो पार्टीले नै यो ऐतिहासिक अभियानको नेतृत्व गर्ने बताए।
सम्बोधनका क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा प्रहार समेत गरे। आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ।
यस्ता जालप्रपञ्चका विरुद्ध इमानदार कम्युनिस्टहरू एकै ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै उनले कार्यकर्ताहरूलाई एकताको महत्त्व बुझ्न आग्रह गरे। व्यक्तिगत स्वार्थ र प्रतिशोधको राजनीतिले देशलाई सही दिशा दिन नसक्ने उनको तर्क छ।
प्रचण्डले पछिल्लो समय सडकमा आएका 'जेनजी' पुस्ताका मागहरूलाई आफ्नो पार्टीले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए। नयाँ पुस्ताको चाहना र भावनालाई समेटेर मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने विश्वास उनले व्यक्त गरे।
युवाहरूको माग र मुद्दालाई प्रमुखताका साथ अघि बढाएकै कारण नयाँ पुस्तामा पनि पार्टीको प्रभाव बढ्दै गएको दाबी गर्दै उनले समाजवादको यात्रा अब कसैले रोक्न नसक्ने बताए। साथै अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकतावद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गरे ।
‘एमाले पार्टी बाहिर जेसुकै कुरा बोलेपनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔं । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यक्ता बन्न गएको छ,’ प्रचण्डले भने । उनले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अव निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको बताए ।
‘अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता विस्तारै निर्वाचनको लागि तयार भइराखेको छ । राजनीतिक दलहरू कोही कोर्टमा गएपनि मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया