काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ ।
सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो ।
सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गरेको थियो। अमेरिकाका शायन जाहान्गिर र आन्द्रेस गस ब्याटिङमा थिए। बलिङमा नेपालका सोमपाल कामीले पहिलो दुई बलमा दुई रन मात्र दिँदा त्यसपछिका दुई बलमा शायन र आरोन जोन्सलाई आउट गरे। सुपर ओभरमा दुई विकेट गएपछि लक्ष्य पाउने नियमअनुसार नेपालले केवल ३ रनको लक्ष्य पाएको थियो।
जसमा नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ हुँदा अमेरिकाका सौरभ नेत्रभाल्कर बलिङमा थिए। पहिलो बलमा रोहितले एक रन लिए। दोस्रो बलमा कुशलले एक रन नै लिए। तेस्रो बलमा रोहितले रन लिएनन्। चौथो बलमा एक रन भए पछि नेपालले खेल जित्यो।
त्यसअघि खेलमा स्कोर बराबरी भएको थियो। आइतबार अमेरिकाको टेक्सासस्थित डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोड्यो।
प्रतिक्रिया