×

‘स्वस्थ जीवन जीउन उचित आहारमा ध्यान दिऔँ’

images

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्वस्थ जीवन जीउन उचित आहारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएन लुम्बिनी र युएस सोयाविन एक्सपर्ट काउन्सिलले संयुक्त रुपमा आज रुपन्देहीको कोटिहवामा आयोजना गरेको प्रोटिनको अधिकार विषयक कार्यक्रममा उहाँले स्वस्थकरण जीवन बिताउन गलत आनीबानी परिवर्तन गर्न आग्रह गर्नुभयो । 

 “खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ तर देशका दुर्गम ठाउँमा खानै पुग्दैन”, उहँँले भन्नुभयो । कानुनमा मात्रै अधिकारको व्यवस्था भए पनि कार्यान्वयन नहुँदा त्यस्तो काननुनको कुनै अर्थ नभएको उहाँको भनाइ छ । प्रमुख शेरचनले पौष्टिकयुक्त आहारका लागि सरकारले उचित बजेट व्यवस्था गरेको भए पनि नागरिकले त्यसको फाइदा लिन नसकेको धारणा राख्नुभयो । “कुनै वयक्तिले सम्पत्तिमाथि सम्पत्ति थुपारेका छन् तर कतिवयले खानै पाएका छैनन् । त्यसप्रति हाम्रो ध्यान गएको छैन । यो दुःखद विषय हो । यसलाई सचेत नागरिकबाट परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रदेश योजना अयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले पोषणयुक्त खानेकुरासँगै जनचेतना आवश्यक रहेको बताउनुभयो । गरिबीका कारण अझै पनि कतिपय नागरिकले खान नपाउने अवस्था रहेको बताउँदै उहाँले लुम्बिनी प्रदेशमा मात्रै १८ प्रतिशत कुपोषण रहेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले मात्रै पोषण कार्यक्रमका लागि एउटा पालिकामा ८० लाखसम्म बजेट विनियोजन गरेको तर कार्यक्रम प्रभावकारी भएको छैन”, उपाध्यक्ष क्षेत्रीले भन्नुभयो । 

मानव शरीरमा प्राटिनको महत्व विषयक कार्यपत्र प्रस्तुत गर्दै शिक्षण अस्पताल काठमाडौँका कन्सल्टेण्ट सर्जन डा सुजिता हिराचनले पोषणसम्बन्धी चेतनाको कमीले मानिसले धेरै रोगको समाना गर्नुपरेको बताउनुभयो । अस्वस्थकर खानाको बढी प्रयोग हुनु र प्रोटिनयुक्त खानामा ध्यान नदिँदा शरीर सुन्नीने, कपाल झर्ने र छाला खस्रो हुने समस्या देखिने गरेको उल्लेख गर्दै उहाँले  मानिसले हरेक दिन आफ्नो तौल बराबरको प्रोटिन खान आवश्यक रहेको जानकारी गराउनुभयो । 

डा पवन कुमारले शरीर स्वस्थ राख्न ४० बढी खानेकुरा खान आवश्यक रहेको बताउनुभयो । “हामी कति वर्ष बाँच्ने भन्नेकुरा हामीले खाने खानेकुरामा भर पर्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा खाऔँ”, उहाँले भन्नुभयो । बदलिँदो जीवनशैलीले गर्दा आजभोलि मानिस बजारमा आएका खानेकुरामा जोड दिने गरे पनि घरमै बनेको खानेकुरा स्वस्थकर हुने उहाँको भनाइ छ । 

भेटेरीनरी एशोसिएशन लुम्बिनीका महासचिव डा अशेष भट्टराईले  प्रोटिनयुक्त खानेकुरा खान पाउनु सबै नागरिकको अधिकार भएको बताउनुभयो । भेटेरिनरी एशोसिएशन लुम्बिनी प्रदेशका सचिव डा वसन्त आचार्यले जीवन चलाउनका लागि सबैलाई प्रोटिनको आवश्यकता रहेको बताउनुभयो । बोटविरुवा र जनावरबाट पाइने खाद्यवस्तुमध्ये प्रोटिन सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै उहाँले शरीरको आवश्यकता आधारमा प्राटिनयुक्त खाना खान सबैलाई अनुरोध गर्नुभयो । 

नेपाल दाना उद्योग सङ्घका सचिव केशव थापाले प्रोटिनयुक्त आहारको कमीले महिलामा ढाड दुख्नेलगायत समस्या हुने भएकाले भान्सालाई प्राटिनयुक्त बनाउन आग्रह गर्नुभयो । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष होमराज बस्यालले प्रोटिनयुक्त खानेकुराको प्रयोग बढाउन जनचेतना आवश्यक रहेकामा जोड दिनुभयो ।

शुक्रबार​ ६ जेठ २०७९ १०:४६ PM मा प्रकाशित

प्रतिक्रिया