×

सीआईबीमा प्रियङ्काको बयान- क्रिप्टोकरेन्सीमा मेरो संलग्नता छैन

images

काठमाडौं– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो पुगेकी नायिका प्रियंका कार्कीलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ।

नायिका कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि आइतबार ब्युरो बोलाइएको थियो। कार्कीले सामाजिक सञ्जालको उक्त पोस्टमा आफ्नो संलग्नता नरहेको बयानका क्रममा बताएकी छन् । 

नेपालमा अबैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई त्यसबारे सोधपुछ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रियंकालाई कार्यालयमा बोलाएको थियो ।कार्कीले केही दिनअगाडि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु। तपाईंहरु पनि लगानी गर्नुस्।’ब्युरोका अनुसन्धान अधिकृतहरूसँग उनले सो पोष्ट आफ्नो नभएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्–‘यसमा म पनि अनभिज्ञ छु, मेरो संलग्नता छैन ।’

क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा उनलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा–जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए ।

‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो । त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं’, उनले भने । अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको उनले बताए ।

क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो ।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैरकानूनी छ । यस्ता क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाईं निर्देशन दिएको थियो । सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो ।

आइतबार​ ६ चैत २०७८ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया