×

सात महिनामा १० हजार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै विगत सात महिनाको अवधिमा विभिन्न निकायमा भएका भ्रष्टाचारविरुद्ध १० हजार बढी उजुरी परेको छ ।

चालू आर्थिक वर्ष २०७९(८० को साउनदेखि फागुनको पहिलो सातासम्म १० हजार २२ वटा उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार गत माघ महिनामा मात्रै अख्तियारमा भ्रष्टाचारविरुद्धका १ हजार ५ सय ३२ वटा उजुरी परेको छ । त्यस्तै, पुस महिनामा १ हजार ३ सय ३२ वटा उजुरी परेको छ भने फागुनको हालसम्मको अवधिमा ३ सय ५१ वटा उजुरी परेको छ ।

अख्तियार नेतृत्वले परेका उजुरीको संवेदनशीलता हेरेर तत्काल उजुरीबारेमा आवश्यकताअनुसार अनुसन्धान प्रक्रियासमेत थाल्ने गरेको छ । अख्तियारले एक महिनामा मात्रै दर्जनौं भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता गर्न सफल भएको छ । जसअनुसार पछिल्लो एक महिनामा मात्रै ८० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले पछिल्लो समयमा दिनहुँ जसो भ्रष्टाचारका मुद्दाहरू दर्ता गर्न सफल हुँदै आइरहेको छ । अख्तियारले ५ फागुनमा ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने ४ फागुनमा दुई जनाविरुद्ध अकुत सम्पत्तिमा मुद्दा दायर गरेको थियो ।

यसैगरी, २ फागुनमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलमा भएको अनियमिततामा ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसैगरी २७ माघमा २ जनाविरुद्ध, २४ माघमा ६ जना विरुद्ध, २३ माघमा १८ जना विरुद्ध , २० माघमा ६ जनाविरुद्ध, १८ माघमा ९ जनाविरुद्ध, १७ माघमा २ जनाविरुद्ध, १२ माघमा ३ जनाविरुद्ध, ११ माघमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । यसैगरी, अख्तियारले ९ माघमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।  राजधानी दैनिकबाट

सोमबार ८ फागुन २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया