×

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पले आज पदबहाली गर्दै

images

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदबहाली गर्दैछन् । पदपहालीको अघिल्लो दिन नै ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए । विजयी र्‍याली गरिरहेका हजारौं समर्थकहरु माझ ट्रम्पले पदपहालीको पहिलो दिन नै धेरै कार्यकारी आदेशहरुमा हस्ताक्षर गर्ने योजना रहेको बताए । केही रिपोर्टहरुले ट्रम्पले अध्यागमनलगायत विषयमा दर्जनौं आदेशहरुमा हस्ताक्षर गर्न सक्ने अनुमान गरेका छन् । वासिङ्टन डिसीमा नयाँ राष्ट्रपतिको पदपहालीका लागि भव्य तयारी गरिएको छ । यो समारोहमा संसारभरका नेताहरु सहभागी हुनेछन् । 

गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भनेका छन । ७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उनी अमेरिकाको ४५ औँ राष्ट्रपति थिए । सत्ताच्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ । 

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानेछन । बाइडेन र ट्रम्पबिच शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण प्रक्रिया सम्पन्न भएको छ । 

शपथ ग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो र मङ्गलवार सम्पन्न हुनेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही महत्त्वपूर्ण नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न केही कार्यकारी आदेश र केही महत्त्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ । 

ट्रम्पले सोही दिन करिब सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन । पहिलो दिन ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबै मानिसलाई आममाफी दिने बताइएको छ । त्यसै गरी पहिलो दिन नै उहाँले अवैधानिक तवरले अमेरिकामा बसोबास गर्दै आएका विशाल जनसमूहलाई देशनिकाला गर्न सक्ने आदेश दिने पनि बताइएको छ । त्यस्तै दक्षिणी सीमामा पर्खालको निर्माण, खनिज पदार्थको उत्खनन, क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत कर र चिनियाँ सामानमा ३५ प्रतिशतसम्म कर लगाउने निर्णय पनि गर्ने बताइएको छ । 

डोनाल्ड ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा करिब ७०० अमेरिकीहरूको अगाडि अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई सपथ ग्रहण गराउनेछन्।

यस क्रममा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ। शपथ ग्रहण समारोहमा राष्ट्रपतिकी पत्नीको हातमा बाइबल हुने परम्परा छ। ट्रम्पको हकमा उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्। शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो यसअघिको कार्यकालको सपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए । सपथपछि क्यापिटल हिलमा कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने छ । तर, यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेकाले ट्रम्पको लागि कसले कला प्रदर्शन गर्ने भन्ने स्पष्ट छैन ।

कला प्रदर्शनपछि ट्रम्पले क्यापिटल हिलको सेट्युरी हलमा अमेरिकी सांसदहरूसँग लञ्च गर्नेछन्। लञ्चमा दिइने खाना प्रायः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट आउँछ। त्यसपछि अमेरिकी क्यापिटलदेखि ह्वाइट हाउससम्म र्‍याली निकालिनेछ । जसको नेतृत्व राष्ट्रपति ट्रम्प स्वयंले गर्नेछन् ।

राति ट्रम्पले आफ्ना नजिकका सहयोगीहरूसँग पार्टीमा भाग लिनेछन् । न्यूयोर्क टाइम्सका अनुसार यो पार्टी मेटा प्रमुख मार्क जुकरबर्गले आयोजना गर्नेछन्। जुकरबर्ग चुनावदेखि नै ट्रम्पसँगको सम्बन्ध सुधार्ने प्रयासमा थिए । बाइडेनको कार्यकालमा उनले ट्रम्पलाई फेसबुकमा प्रतिबन्ध लगाएका थिए।

बाइबलमा हात राखेर शपथ लिने परम्परा १७८९ मा जर्ज वाशिंगटनबाट सुरु भएको थियो। तर, त्यो संवैधानिक व्यस्था होइन, केवल परम्परा हो । अमेरिकी संविधानअनुसार नयाँ राष्ट्रपतिले सपथ मात्र लिनुपर्छ। बाइबल वा कुनै अन्य धार्मिक पुस्तकबाट शपथ लिने कुनै नियम छैन। अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सीले संविधानमा हात राखेर शपथ लिएका थिए । थियोडोर रुजवेल्टले कुनै पनि पुस्तकमा आफ्नो हात नराखी शपथ लिएका थिए ।

अमेरिकामा शक्ति हस्तान्तरण प्रक्रिया पूरा गर्न ७२ देखि ७८ दिन लाग्छ। यसपटक अमेरिकामा सत्ता हस्तान्तरण हुन ७५ दिन लाग्नेछ । यसको पछाडि सबैभन्दा ठूलो कारण अमेरिका ठूलो देश हुनु हो ।

 

सोमबार ७ माघ २०८१ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया