काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।
भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताए। घटना पुस १५ गते राति १०ः१० बजेको भएको पुष्टि भएको छ। कुटपिट गरिएका युवकको बारेमा पनि बुझ्ने काम भइरहेको डीएसपी महतोले बताए।
घटनाको छानबिन गर्न सोमबार बिहान मात्रै डीएसपी महतोकै नेतृत्वमा समिति बनाइएको थियो। सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २५ वर्षका एक युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ। सवारी चेकजाँच गर्ने क्रममा ती युवकमाथि कुटपिट भएको देखिन्छ। ड्युटीमा खटिएका प्रहरीले उनलाई लखेटि लखेटि लात्ति प्रहार गर्छन्।
प्रहरीबाट जोगिन ती युवक भागे पनि अलि पर बिजुलीको पोल छेउमा लडाएर प्रहार गर्छन्। भिडिओ सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको छ। प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।
प्रतिक्रिया