×

सानो पाइला सहकारीको बचत ठगी : बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने

images

काठमाडौं- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। मंगलबार रविले चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराइरहँदा न्यायाधीश रूद्रप्रसाद सुवेदीको एकल इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको तहसिलदार देवराज भट्टराईले बताए ।

मंगलबार थुनछेक बहस सकिएपछि यो आदेश भएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलिरहेको छ। पर्सा हाजिर भएका लामिछाने म‌ंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो ।

न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको थियो । अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको र माग भएको रकम बुझाएर रिहा भएको तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो । उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

मङ्गलबार ७ माघ २०८२ ०७:०६ PM मा प्रकाशित

प्रतिक्रिया