काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गरेका छन्।
प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट गरे।
उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गरे।
‘म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न‘, अध्यक्ष ओलीले भने, ‘सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ। उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ।‘
निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गरे।
यस्तै ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् । सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘…यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने?,’ ओलीले भनेका छन्, ‘अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ? भन्ने कुरा आउँछ ।’
उनले हलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अलि पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने बताए । ‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन । तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया