चितवन, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी चितवनको भरतपुरमा तीव्र पारिएको छ । असार ७ गतेदेखि सुरु हुने यस महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको छ भने भोलि असार ६ गते साँझ भरतपुरमा रास्वपा केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ ।
असार ७ गते दिउँसो २ बजे भरतपुरस्थित गेस्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन समारोह आयोजना गरिनेछ । उक्त उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिने कार्यक्रम छ । समारोहको मुख्य आकर्षणका रूपमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को विशेष सम्बोधन रहने जानकारी दिइएको छ । उद्घाटन समारोहलाई थप भव्य र सांस्कृतिक बनाउन चितवनको स्थानीय पहिचान र विभिन्न जातीय संस्कृति झल्कने परम्परागत नृत्य तथा झाँकीहरू प्रदर्शन गर्ने तयारी गरिएको छ ।
असारको महिना घाम र पानी दुवैको चुनौती हुने भएकाले गेस्ट हाउस चौरमा विशेष प्रकारको 'जर्मन ह्याङ्गर' संरचना तयार गरिएको छ । काठमाडौंको मिडिया स्पेस सोलुसनले निर्माण गरिरहेको यो संरचना तीनवटा सेक्सनमा विभाजित छ, जसको मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लामो छ । यसभित्र झन्डै ५ हजार कुर्सीहरू राख्न मिल्ने र १० हजारसम्म मानिस अटाउन सक्ने बताइएको छ ।
यसअघि महाधिवेशनको उद्घाटन पूर्वी चितवनको टाँडीमा गर्ने तय भई करिब ७ लाख रुपैयाँ खर्चेर बाँसको पण्डालसमेत बनाउन सुरु गरिएको थियो । तर, अन्तिम समयमा सुरक्षा र व्यवस्थापकीय सहजतालाई ध्यानमा राख्दै स्थान परिवर्तन गरी भरतपुर सारिएको हो ।
राजनीतिक कार्यक्रमहरूका लागि हल उपलब्ध नगराउने अडान राख्दै आएको चितवन उद्योग संघले अन्ततः रास्वपालाई आफ्नो प्रदर्शनी केन्द्रको हल उपलब्ध गराएको छ । सरकारसँगको सम्झौता अनुसार औद्योगिक र विपद्जन्य कार्यबाहेक अन्य प्रयोजनमा हल दिन नमिल्ने भन्दै सुरुमा संघले आनाकानी गरे पनि उद्योग मन्त्रालयको लिखित अनुरोध र गृह मन्त्रालयको समन्वयपछि ३ दिनका लागि हल उपलब्ध गराइएको हो ।
असार ८ गते बिहानदेखि सुरु हुने बन्दसत्रका लागि उक्त हलभित्र कुर्सी व्यवस्थापन, ई-भोटिङ प्रणाली, एअर कन्डिसनर (AC), र शौचालय लगायतका आन्तरिक तयारीहरू दुरुस्त पारिएको छ । बन्दसत्र स्थलमा चितवनका स्थानीय उत्पादनहरू प्रवर्द्धन गर्ने उद्देश्यले केही व्यापारिक स्टलहरू समेत राखिनेछन् ।
रास्वपाले आफ्नो नेतृत्व चयन प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री र आधुनिक बनाउने भएको छ । महाधिवेशनबाट १ सय जना प्रतिनिधिहरू प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुनेछन् भने बाँकी सदस्यहरू पार्टीले मनोनीत गर्नेछ । मतदान प्रक्रियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग गरिने निश्चित भइसकेको छ र यसका लागि सम्बन्धित पक्षसँग सम्झौतासमेत भइसकेको छ ।
महाधिवेशनमा भाग लिन देशैभरिबाट करिब ३ हजार प्रतिनिधि र अन्य सहभागी गरी झन्डै ४ हजार मानिस चितवन आउने अनुमान छ । उनीहरूका लागि भरतपुर, नारायणगढ, सौराहा, टाँडी, मेघौली र गैंडाकोट क्षेत्रका १५० देखि २०० वटा होटलहरूमा करिब २ हजार कोठाहरू बुकिङ गरिएका छन् ।
प्रतिक्रिया