काठमाडौं । नेपाली कांग्रेसले भारतीय सीमावर्ती क्षेत्रमा सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदम जनविरोधी, अव्यवहारिक र असंवेदनशील काम भएको आरोप लगाएका छन्।
‘यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र होइन, वर्तमान आर्थिक संकटका बीच जनताको ढाड सेक्ने अर्को बोझ हो,’ उनले भनेका छन्, ‘खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन् । विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।’
पेट्रोलिमय पदार्थको मूल्य उच्च वृद्धि भइरहेको समयमा २/३ सय रुपैयाँको खरिदमै अतिरिक्त शुल्क लगाउनु भनेको जनताको क्रयशक्ति कमजोर पार्नु मात्रै नभई गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम भएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया