×

कैयौं गाउँको मुहार फेर्ने कालीगण्डकी कोरिडोर

images

काठमाडौ । नेपालका विभिन्न बस्ती हुँदै भारत र चीन दुई छिमेकी मुलुकलाई सडक सञ्जालमार्फत जोड्नेगरी निर्माण भइरहेको कालीगण्डकी कोरिडोरले दुर्गमका कैयौं गाउँको मुहार फेरिएको छ ।

सुनौली नाकादेखि चीनसँगको नाका कोरोलासम्म पुग्ने गरी नेपालको गैंडाकोटबाट र बेनीबाट दुई खण्डमा कोरिडोर निर्माणको काम चलिरहेको छ । एमाले नेता प्रदीपकुमार ज्ञवालीको पहलमा निर्माण कार्यले गति लिएसँगै कोरिडोरका आधाभन्दा धेरै भाग अहिले कालोपत्रेमा स्तरोन्नति भइसकेको छ ।

नवलपरासी पश्चिमको गैंडाकोटबाट राम्दी हुँदै बाग्लुङको मालढुंगासम्म र त्यहाँदेखि माथि म्याग्दीको बेनीबाट जोमसोम-कागबेनी हुँदै कोरोलासम्म पुग्ने सडक निर्माण भइसकेको छ । कोरिडोरलाई दुई खण्डमा वर्गीकरण गरेर निर्माण भइरहेको छ ।

गैंडाकोट-राम्दी-मालढुंगा खण्डको करिब ८३ प्रतिशत काम पूरा भइसकेको छ । भने बेनी-जोमसाम-कोरोलासम्मको खण्डको झण्डै ८० प्रतिशत काम पूरा भएको छ । दुवै आयोजनाका योजना प्रमुख सीडीई शंकर पौडेल र जगत प्रजापति दुवैले अबको डेढ दुई वर्षभित्रमा कोरिडोर निर्माणको सबै काम पूरा हुने बताए ।

गैंडाकोट-राम्दी-मालढुंगा खण्ड १३१ किलोमिटर पर्छ । यो खण्डअन्तर्गत अहिले झण्डै १०७ किलोमिटर सडक पिच भइसकेको छ । समग्रमा मालढुंगासम्मको करिब २४० किलोमिटर सडकमध्ये ११२ किलोमिटर खण्ड कालोपत्रेमा स्तरोन्नति भइसकेको कारिडोरको गैंडाकोट कार्यालयका योजना प्रमुख सीडीई पौडेलले बताए ।

एमाले नेता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री भएका वेलामा यो कोरिडोरलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गरेका थिए । उनै नेता ज्ञवालीले २०७५ भदौ २५ गते रिडी-रुद्रबेनी सडक विस्तार गरी १० मिटरको बनाउने कार्यको पनि शुभारम्भ गरेका थिए । अहिले यो खण्ड आकर्षक सडक बनेको छ । यसले यो खण्ड हुँदै कैयौं गाउँमा सहज यातायात हुँदै आएको छ ।

कोरिडोरअन्तर्गतको रिडी–पालुङखोलासम्मको करिब ४२ किलोमिटर सडक विस्तार र स्तरोन्नति भइरहेको छ । यस्तै रिडी-रुद्रबेनी-हर्मिचौर जोड्ने खण्डको करिब २१ किलोमिटर सडक पनि झण्डै ५३ करोड बराबरको बजेटमा पिच भइरहेको छ । हर्मिचौरदेखि वीरबास खण्डका लागि करिब ४ अर्ब बराबरको बजेटमा काम गर्ने गरी ठेक्का व्यवस्थापनको काम अगाडि बढेको छ ।

रानीमहल-राम्दी र फलेबास-अर्मादी खण्ड नयाँ ठेक्कामा

कोरिडोरअन्तर्गत केही खण्ड अनकण्टार पहाड र भीरमा पर्दछन् । राम्दी-रानीमहल खण्ड अप्ठ्यारोमध्येमा पर्छ । यहाँ ट्रयाक खोलेर सडकको आकार तयार भइसकेको छ । तर, विस्तार र स्तरोन्नतिको काम बाँकी छ । यो खण्डको करिब १४ किलोमिटर सडकको विस्तार र स्तरोन्नतिका लागि बहुवर्षे नयाँ ठेक्का सुरु गर्ने प्रक्रियामा रहेको योजना प्रमुख सीडीई पौडेलको भनाइ छ ।

यस्तै पर्वतको फलेबास-अर्मादी खण्डको करिब १७ किलोमिटर खण्डको पनि नयाँ बहुवर्षे ठेक्का प्रक्रियामार्फत अगाडि बढाउने काम भइरहेको छ । यो क्षेत्रको करिब ५० किलोमिटरको सडक खण्डलाई कालीगण्डकी लोकमार्गका रुपमा वर्गीकरण गरी स्तरोन्नति र विस्तार गरिएको छ । कालीगण्डकी नदीको वारि र पारि दुवैतिरबाट सुनौली-कोरोला जोड्ने व्यवस्थित सडक निर्माण गर्नुपर्छ भन्दै झण्डै २० वर्षअघि एमाले नेता प्रदीपकुमार ज्ञवालीलगायतले संकल्प गरेका थिए । त्यसमध्ये २०६८ सालदेखि कोरिडोर विस्तार र स्तरोन्नतिको काम चलिरहेको छ ।

शुक्रबार​ २ मंसिर २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया