×

नारी स्रष्टा समाजद्वारा साहित्यकारहरू सम्मानित 

images


काठमाडौं । विराटनगरमा स्थापित नारी स्रष्टा समाजले काठमाडौंमा कार्यक्रम आयोजन गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मानित गरेको छ ।
विहिबार आयोजित कार्यक्रममा समाजले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान’ साहित्यकार तुलसीहरि कोइराला, ‘कविराज स्रष्टा सम्मान’ साहित्यकार भीष्म उप्रेती र ‘हेमलता स्रष्टा सम्मान’ साहित्यकार विनोद नेपाललाई समर्पण गरेको छ ।

पुरस्कारकासाथ कोइरालालाई १५ हजार नगदराशि प्रदान गरियो भने उप्रेती र नेपाललाई ११÷११ हजार नगदराशि प्रदान गरियो । सोहीअवसरमा समाजले स्रष्टाहरू राधेश्याम लेकाली, मञ्जिला अनिल, बिन्दु अधिकारी ढकाल, रिता खत्री, मीना श्रेष्ठ, निर्मला मुरारीलाई ‘मोहनलता सम्मान’बाट सम्मानित गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले सर्जकहरूलाई सम्मानित गर्दै नारी स्रष्टा समाजले पुरुष सर्जकहरूलाई पनि सम्मानित गर्दै उदाहरणीय कार्य गरेको बताए । 

कार्यक्रममा साहित्यकार महेश प्रसाईं तथा डा. शैलेन्दुप्रकाश नेपालले सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए ।
विराटनगरमा स्थापित स्रष्टा समाजको कार्यक्रम हरेक वर्ष मंसिर १ गते विराटनगरमा हुँदै आएकोमा यस वर्ष विविध कारणले गर्दा काठमाडौंमा नै गर्नु परेको समाजका अध्यक्ष ममता मृदुलले बताइन् । 


कार्यक्रममा सम्मानित सर्जकहरू उप्रेती, कोइराला, नेपाल र निर्मला मुरारीले लेखन अनुभूति सुनाएका थिए । सर्जक विनोद नेपालले आफूले प्राप्त गरेको नगदराशि समाजलाई नै समर्पण गरेका थिए ।

 

शुक्रबार​ २ मंसिर २०७९ ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया