×

केही चर्चित भारतीय कलाकारहरूले सेवन गर्ने यो पेय पदार्थ के हो ?

images

काठमाडौं । भारतीय चलचित्र अभिनेत्री काजल अग्रवाल हालै मुम्बई विमानस्थलमा 'कालो रङ्गको पानी' भएको एउटा बोतलको साथमा देखा परिन्। पत्रकारहरूले उक्त बोतलमा रहेको पानीमा खास के विशेष छ भनेर सोधे।  

उनले मुस्कुराउँदै जवाफ दिइन्, 'यो पनि पिउने पानी नै हो। तपाईँ पनि एक पटक पिएर हेर्नुस्। तपाईँलाई समेत राम्रो लाग्नेछ।' उनले कैयौँ दिनदेखि त्यस्तो 'कालो पानी' पिइरहेको बताइन्। केही दिन पहिले श्रुति हासनले समेत सामाजिक सञ्जालमा आफूले 'कालो पानी' पिइरहेको देखाएकी थिइन्। 

उनको एउटा भिडिओमा एउटा गिलासमा 'कालो पानी' देखिएको थियो।  श्रुतिले उक्त भिडिओमा भनेकी थिइन्, 'मैले पहिलोपटक 'कालो पानी' को बारेमा सुन्दा त्यो नयाँ कुरा लाग्यो। खासमा यो कुनै 'कालो पानी' होइन। यो क्षारिय (अल्कलाइन) पानी हो। स्वादमा यो सामान्य पानीझैँ नै लाग्छ।'

यसअघि समेत मलाइका अरोडा, उर्वशी रौतेला र अन्य कैयौँ कलाकारहरूले यस्तो पानीको प्रयोग गरिरहेको खबर सार्वजनिक भएको थियो। 

'कालो पानी' मा के हुन्छ ?

हाम्रो शरीरको ७० प्रतिशत पानीले बनेको हुन्छ। जसले गर्दा शरीरको सबै हिस्सामा पानी पुग्दै तिनले राम्ररी काम गरून् भन्नका लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ। हाम्रो शरीरबाट खराब कुराहरू बाहिर निकाल्नका लागि समेत पानी सहयोगी हुन्छ। 

त्यसैगरी यसले शरीरमा उचित तापमान कायम गर्दै शरीरको विभिन्न भागमा खनिज-नूनको मात्रा पुर्‍याउन सघाउँछ। पाचन प्रणाली प्रभावकारी बनाउनमा समेत पानीको भूमिका अहम् छ। 

'कालो पानी' बेच्ने कम्पनीहरूका अनुसार उनीहरूका उत्पादनमा ७० प्रतिशतभन्दा धेरै खनिज तत्त्व मिसाइएको हुन्छ। 'कालो पानी' मा म्याग्नेसियम र क्याल्सियमजस्ता तत्त्व हुनेगर्छन्। 

उत्पादनकर्ता कम्पनीहरूका अनुसार त्यसको मात्राको अनुपात भने फरक-फरक हुनसक्छ। कम्पनीहरूको दाबी अनुसार 'कालो पानी' ले पाचन प्रक्रियालाई तीव्र पार्छ, अम्लीय तत्त्वको उत्पादन कम गर्छ र प्रतिरक्षा प्रणाली बढाउँछ। 

मङ्गलबार १ कात्तिक २०७९ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया