साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। सेयर कारोबार रकममा वृद्धि हुनाका साथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंकले बढेर २,६४७ विन्दुमा पुगेको छ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा शुक्रबार कुल ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
शुक्रबारको कारोबारमा विशेष गरी बैंकिङ उपसमूहातर्फ लगानीकर्ताको ठूलो आकर्षण देखिएको छ। सो दिन बैंकिङ समूहको सूचक सबैभन्दा बढी १.५९ प्रतिशतले वृद्धि भएको छ। यसबाहेक जीवन बीमा समूह १.५२ प्रतिशत, जलविद्युत् ०.८५ प्रतिशत तथा व्यापार उपसमूह ०.८५ प्रतिशतले बढेका छन्। यस्तै विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसमूहमा पनि हरियाली छाएको छ।
कुल १९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। मूल्य बढ्नेमा स्नो रिभर्स (१३.६६%), इन्फिनिटी लघुवित्त (९.८१%), र मैलुङखोला जलविद्युत् (८.८४%) लगायतका कम्पनी अगाडि रहेका छन्।
कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी र सिद्धार्थ बैंक लगायतका कम्पनीहरू अग्रस्थानमा रहेका छन्।
प्रतिक्रिया